थुनछेक बहसपछि रवि लामिछानेलाई पठाइयो हिरासत

चितवन । रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले हिरासतमा पठाएको छ। जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार लामिछानेलाई बुधबारको बहसपछि प्रहरीको जिम्मा लगाइएको हो ।
आज बहस नसकिएको हुँदा भोलि बिहान १० बजे उपस्थित गराउने गरी सुरक्षाकर्मीको जिम्मा लगाइ जिल्ला प्रहरी कार्यालय चितवन पठाएको सूचना अधिकारी विश्वकर्माले बताएका हुन ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगी गरेको सम्बन्धमा रवि लामिछानेविरूद्ध चितवन जिल्ला अदालतमा दायर भएको मुद्दामा बुधबार लामिछानेको बयान सकिएर थुनछेक बहस सुरू भएको हो । मुद्दामा वादीका तर्फबाट सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधीवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी र बुद्धबहादुर थापाको बहस सकिएको चितवन जिल्ला अदालतका सूचना अधिकारी विश्वकर्माले जानकारी दिए ।
त्यसैगरी जाहेरवालाका तर्फबाट अधिवक्ता रमेश काफ्लेको बहस सकिएपछि बुधबारको बहस पूरा भएको छ । जाहेरवालाका तर्फबाट एकजना वरिष्ठ अधिवक्तासहित चारजनाले बहस गर्दैछन् ।
प्रतिवादी रवि लामिछानेका तर्फबाट १० जना कानुन व्यवसायीले बहस गर्न वकालतनामा दर्ता गराएका छन् । बाँकी कानुन व्यवसायीहरूको बहस बिहिबारबाट फेरि सुरू हुने अदालतका सूचना अधिकारी विश्वकर्माले बताए ।
यसअघि बुटवलस्थित सुप्रिम सहकारी संस्थाको मुद्दा रूपन्देही जिल्ला अदालतमा दर्ता हुँदा माघ ९ गते उनलाई परिवार र वकिलको जिम्मामा छाडिएको थियो। परिवारको जिम्मामा छाडिएपछि सरकारी वकिलहरूले असन्तुष्टि समेत जनाएका थिए। त्यहाँ उनीसँग थुनछेक बहस सकेर इजलासले एक करोड धरौटी माग गरेको थियो।
त्यसअघि काठमाडौं जिल्ला अदालतमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको थुनछेक जारी रहँदा पनि रवि पक्षका वकिलहरूले हिरासतमा नपठाउन अनुरोध गरेका थिए। तर न्यायाधीश माधवप्रसाद अधिकारीले उनलाई हिरासतमै पठाएका थिए।





प्रतिकृया दिनुहोस्