May 4, 2026, Monday
२०८३ बैशाख २१

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुँदैछ : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग एकताको आधार बन्दै गरेको दाबी गरेका छन्। माओवादी केन्द्र चितवनले गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुने दाबी गरेका हुन ।

एकीकृत समाजवादका नेतासहित सयौँ नेता कार्यकर्ता माओवादी केन्द्रमा सो क्रममा अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेता कृष्णराज न्यौपाने लब्लीको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्ने सयौं नेता कार्यकर्तालाई स्वागत गरेका थिए । दुईपटक कार्यवाहक जिल्ला अध्यक्ष भएर पार्टी सञ्चालन गरिसकेका पुराना बामपंथी नेता न्यौपाने हाल एकीकृत समाजवादीको बागमती प्रदेश सदस्य रहेका छन् । 

त्यस्तै एकीकृत समाजवादीका चितवन जिल्ला उपाध्यक्ष गंगालाल तामाङ, बागमती प्रदेश सदस्य सुरज तिवारी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य अरुणपीडित भण्डारी, जिल्ला सदस्यहरु राजेन्द्र कँडेल, किरण श्रेष्ण, ज्ञानबहादुर कुमाल, हरि मिश्र, रामबहादुर रानामगर, बिष्णु लामिछाने, बलराम पीडित, सुदन दराई लगायत विभिन्न तहमा रहेका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

एकीकृत समाजवादीका स्थानीय नेतालाई पार्टी प्रवेश गराउँदै उनले भने, ‘यो प्रवेशले माधवजीसँगको सम्बन्धलाई कुनै असर पर्ने छैन। उहाँहरूलाई भित्र्याउन मेरो कुनै भूमिका छैन। चितवनकै साथीहरूको भूमिका छ। अहिले माधवजी र हामी मिलेर समाजवादी मोर्चामा नयाँ ढङ्गले काम गर्न खोजिरहेका छौँ। अहिलेको पार्टी प्रवेशले माओवादी र एकीकृत समाजवादीबीचको पार्टी एकताको आधार बन्दैछ भन्ने मेरो बुझाइ छ।’

प्रचण्डले यसो भनेपछि कतिपयले माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुन लागेको रूपमा अर्थ्याएका छन्। यसबारे एकीकृत समाजवादीका उपाध्यक्ष डा. वेदुराम भुसाल भन्छन्, ‘एकता हुनुपर्छ भन्ने सैद्धान्तिक बुझाइ छ। तर, तत्कालै एकता भने सम्भव देखिँदैन।’

समाजवादी मोर्चामा सँगै रहेको उल्लेख गर्दै उनले थपे, ‘अहिले पनि सहकार्य चलिरहेकै छ। समाजवादी मोर्चामा सँगै छौँ, मोर्चालाई थप सुदृढ गरेर लाने विषय छँदैछ। नेपालको कम्युनिष्ट आन्दोलनमा ध्रुवीकरणको आवश्यकता छ। यसको बोध हामीले मात्रै गरेर हुँदैन, माओवादीले मात्रै गरेर पनि हुँदैन। सबै कम्युनिष्टहरूले गर्नुपर्छ र अन्तत: एकतासम्म पुग्नैपर्छ।’

त्यसो त यसअघि नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुने कुरा थियो। त्यसबेला खासगरी एकीकृत समाजवादी नै ‘ब्याक’ भएको थियो। पार्टीका दोस्रो तहका नेताहरूले आफूभन्दा ठूला पार्टीसँग एकता गर्दा त्यो एकता नभइ विलय हुने र माओवादी केन्द्रसँग एकता भयो भने ठूलै सङ्ख्यामा नेताहरू एमालेमा समाहित हुने बताएपछि अध्यक्ष माधवकुमार नेपाल हच्किएका थिए।

अध्यक्ष नेपाल भने एकता नै भए पनि फरक नपर्ने बुझाइमा थिए। तर, रामकुमारी झाँक्री, किसान श्रेष्ठ, जीवनराम श्रेष्ठ, प्रेम आलेलगायतका नेताहरूले सहमति नजाएपछि उनी पछाडि हटेका थिए। अध्यक्ष नेपालले भने पहिले पनि एउटै पार्टीमा रहेकाले पुन: सँगै हुँदा फरक नपर्ने आशयका धारणा राख्थे।

त्यसपछि एकताको कुरा उसै हराएको थियो। तर, आज फेरि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यही विषय उधिनेका छन्।

उसो त माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता चलिरहेकै छ। यसबीचमा उनीहरूका बीचमा थुप्रैपटक ‘वान् अन वान्’ वार्तासमेत भएका छन्।

ती वार्ताहरूमा एकताको कुरा नछुट्ने माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटा बताउँछन्। उनले भने, ‘उहाँहरूबीच वान् अन वान् वार्ताहरू भइरहेका छन्। ती वार्ताका क्रममा यस्तै यावत् विषयबारे पनि छलफल हुने गरेका छन्। एकताबारे पनि कुरा हुने गरेकै छन्।’

माओवादी केन्द्रको बैठक।

प्रवक्ता सापकोटा पनि एकीकृत समाजवादीसँग एकताको आधार तयार भइरहेकै बताउँछन्। ‘हाम्रो अध्यक्षले भन्नुभएकै कुरा साँचो हो। एकीकृत समाजवादीसँग एकताको आधार तयार हुँदैछ। अहिल्यै नहोला तर, केही समयपश्चात् एकता हुन्छ र हुनु पनि पर्छ।’

जसै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको धारणा भने अहिले पनि उही छ। पछिल्लो संसदीय निर्वाचनमा ३ प्रतिशतको थ्रेसहोल्डसमेत नकटाएको उनको दल सुदृढ हुँदै जानुको साटो विभाजनको डरमा छ। गत माघ १६ गते काठमाडौंमा समाजवादी मोर्चाले आयोजना गरेको विचारसभा सम्बोधन गर्ने क्रममा पनि उनले एकतामै जोड गरेका थिए।

तर, दोस्रो तथा तेस्रो तहका नेताहरूले सहमति नजनाउँदा उनलाई अप्ठ्यारो भएको छ।