May 4, 2026, Monday
२०८३ बैशाख २१

कांग्रेसले सातै प्रदेश र ७७ जिल्लाका सभापतिलाई पोखरामा प्रशिक्षण दिंदै

धनगढी । नेपाली कांग्रेसले सातै प्रदेश र ७७ जिल्लाका पार्टि सभापतिलाई प्रशिक्षण दिने भएको छ । कांग्रेसको प्रशिक्षण प्रतिष्ठानले पोखरामा २० गतेदेखि २३ गतेसम्म पार्टी सुदृढीकरण र रणनीतिबारे प्रशिक्षण कार्यक्रम राखेकोजनाएको हो ।

नेपाली कांग्रेसले अबको रणनीनि, पार्टीको आन्तरिक जीवन र गठबन्धन तथा सरकारको काम र पार्टी सुदृढीकरणका लागि पोखरामा सातै प्रदेश र देशभरका सभापतिलाई प्रशिक्षण तथा अभिमुखीकरण गर्ने भएको हो ।

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले २० गते पोखरा महानगर सम्मेलन र २१ गते सातै प्रदेशका सभापतिसहितको छलफल राखिएको जानकारी दिएका हुन । उनका अनुसार कांग्रेसको प्रशिक्षण प्रतिष्ठानको आयोजनामा २२ र २३ गते पोखरामा ७७ वटै जिल्लाका सभापति, ७७ वटै जिल्लाका प्रशिक्षण शाखा प्रमुख तथा उपसभापतिलाई राखेर प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम राखिएको छ ।

२० गतेदेखि नै कांग्रेस सभापति शेरबहादुर देउवादेखि केन्द्रीय पदाधिकारीहरु पोखरामा हुने छन् । ‘केन्द्रीय सभापतिदेखि महामन्त्रीद्वयसहित पदाधिकारी, उपलब्ध केन्द्रीय सदस्य पोखरा हुनुहुनेछ । सभापति देउवा २० गते पोखरा आएर २२ गते बेलुकासम्ममा काठमाडौं फर्किने कार्यसूची छ,’ सभापति बरालले भने, ‘महामन्त्रीसहित पदाधिकारी २३ गतेसम्मै प्रशिक्षण कार्यक्रममा रहने तय भएको छ ।’

पार्टी महाधिवेशन, कार्यकर्ता तथा नेतृत्व निर्माण सरकारमा कांग्रेसको सहभागिता र रणनीतिदेखि आगामी चुनावसम्मको विषयमा प्रशिक्षण तथा अभिमुखीकरण हुने प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा देशभरका करिब २ सय जनाभन्दा बढी सहभागी हुने सभापति बरालले जानकारी दिए ।