कांग्रेस सभापति देउवाले लिए मन्त्रालयको ब्रिफिङ, द्रुत गतिमा काम गर्न निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएका मन्त्रीहरुको कार्य प्रगति विवरणबारे जानकारी लिएका छन्।
बिहीबार बिहान आफ्नो निजी निवास बुढानिलकण्ठमा बोलाएर सभपति देउवाले कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको कार्य प्रगति विवरणबारे जानकारी लिएका हुन्।
सभापति देउवालाई केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका मन्त्रीहरूले सोचे अनुसार काम गर्न नसकेको र अप्ठ्याराहरू बाँकी रहेको ब्रिफिङ गरेका छन् । कांग्रेस संसदीय दल कार्यसमिति बैठकमा बोलाइएका मन्त्रीहरूले आफ्नो मन्त्रालयमा भइरहेका काम बारे ब्रिफिङ गरे।
मन्त्रीहरुले आफ्नो मन्त्रालयको कार्यप्रगतिबारे जानकारी दिएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताए। उनले मन्त्रालयले सोचेअनुसारको काममा तिब्रता दिन नसकेको उल्लेख गरे। छलफलमा मन्त्रालयको कार्यप्रगतिबारे जानकारी गराइएको र अब कसरी प्रभावकारी बनाउने भन्नेबारेमा नेताहरुले सुझाव दिएको उनले बताए।
उनले भने, ‘नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण मन्त्रीहरुको उपस्थिति भएको छ । त्यसमा नेपाली कांग्रेसको तर्फबाट आफूले सम्हालेको मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण मन्त्रीहरुले आफूले सम्हालेको मन्त्रालयको बारेमा विस्तृत जानकारी दिनुभएको छ । के राम्रा काम भए, कसरी प्रभावकारी बनाउने, कसरी अघि बढ्ने भन्ने विषयमा जानकारी दिने काम भयो।’ उनले अध्यादेशको बारेमा सकारात्मक छलफल भएको पनि बताए।
ओली सरकारमा कांग्रेसबाट २ राज्यमन्त्रीसहित १२ मन्त्रीको प्रतिनिधित्व छ । दलका कार्यसमितिमा रहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ सहभागी थिए ।





प्रतिकृया दिनुहोस्