संसद अधिवेशन बोलाउन दबाब दिने प्रतिपक्षी दल हरूले गर्यो निर्णय, रविमाथि राज्यले प्रतिशोध गरेको ठहर

काठमाडौं । प्रतिपक्षी दलहरूले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलहरूको बैठकले संयुक्त वक्तव्य निकालेर दबाब दिने निर्णय गरेको हो ।
विपक्षी पाँच दलको बैठकले सरकारले संसद्को नियमित संसद् अधिवेशन नबोलाए विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउन पहल समेत गर्ने निर्णय गरेका छन् ।
बैठकको निर्णयबारे जानकारी दिँदै माओवादीको उपमहासचिव वर्षमान पुनले सरकार संसद् छलेर अलोकतान्त्रिक तरिकाले अध्यादेशबाट शासन गर्न लागेको आरोप लगाए । पुनका अनुसार संसद्को नियमित अधिवेशन बोलाउन सरकारलाई दबाब दिने नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
‘सरकारले सदन छलेर अध्यादेशबाट शासन गर्ने अलोकतान्त्रिक गरिरहेको छ । ओलीमा स्वेच्छाचारी ढङ्गले शासन गर्ने विगतको प्रवृत्ति थियो । अलिकति सच्यो कि भनेको फेरि त्यही दोहोरिएको छ । महँगी बढेको छ । अनियमितता बढेको छ । यस्तो अवस्थामा नियमित अधिवेशन बोलाउन विपक्षी दलले माग गरेको छ । नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्नेर्छौं’, पुनले भने ।
बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत, रास्वपाका डीपी अर्याल, एकीकृत समाजवादीका माधव कुमार नेपाल र बेदुराम भुसाल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका अध्यक्ष प्रभु साह, र नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी थिए ।
बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत नेताहरू पछिल्लो राजनीतिक अवस्था, संसदमा विपक्षी दलहरूको भूमिका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
विपक्षी दलको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेमाथि राज्यले प्रतिशोध साधेर निरन्तर दमको शैली अपनाएको ठहर गरेको छ । प्रतिपक्षी दलहरूको बैठकमा पार्टी सभापति रवि लामिछानेको विषयमा छलफल भएको रास्वपा कार्यवाहक सभापति डीपी अर्यालले जानकारी दिएका हुन ।
उनले समान किसिमको घटनामा सत्ता घटक दल निकट रहेकाहरूलाई बिहान अदालत लगेर साँझ छाड्ने गरेको तर‚ सभापति लामिछानेमाथि प्रतिशोध साधिएको ठहर बैठकले गरेको बताए ।
‘सहकारीको विषयमा कसैलाई बिहान अदालतमा ल्याएर साँझ छोडेको छ । सञ्चालकहरूलाई पनि त्यसरी छाडेको छ । रविजीमाथि राज्यको प्रतिशोध हो । यस किसिमको दमन व्यवहार गर्नुहुँदैन भन्ने बैठकको निष्कर्ष रह्यो‚’ उनले भने ।
विपक्षी दलहरुको बैठक बिहीबार पुनस् बस्नेछ । बिहीबारको बैठकपछि संयुक्त वक्तव्य जारी गरी संसद अधिवेशन बोलाउन दबाब दिने तयारी प्रतिपक्ष दलको छ ।
विपक्षी दलको संयुक्त वक्तव्य बनाउन नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुषालले जिम्मेवारी पाएका छन् ।





प्रतिकृया दिनुहोस्