March 5, 2026, Thursday
२०८२ फाल्गुन २१

रवि लामिछानेलाई फेरि पठाइयो हिरासत, काठमाडौं अदालतमा भोलि थुनछेक बहस हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई फेरि हिरासतमा पठाइएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई फेरी प्रहरीको जिम्मा लगाउने आदेश गरेको हो ।

जिल्ला अदालत काठमाडौंमा आइतबार बयान भए पनि थुनछेक बहस नभएकोले लामिछानेलाई हिरासतमा पठाइएको हो। जिल्ला न्यायाधीश अधिकारीको इजलासले लामिछानेलाई न्यायिक हिरासतमा राख्न प्रहरीको जिम्मा लगाउन आदेश दिएका हुन्।

पूर्व महान्यायाधिवक्ता रमन कुमार श्रेष्ठ र सुशील पन्तले लामिछानेलाई कानुन व्यवसायी, परिवार वा सरकारी वकिलको जिम्मा लगाउन आग्रह गरेपनि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश अधिकारीले अस्वीकार गरे। जिम्मा जमानीमा छाड्नुपर्ने वरिष्ठ अधिवक्ताहरूको आग्रहपछि चेम्बरमा गएर फर्केपछि न्यायाधीश अधिकारीले भने, ‘मैले सधैँजस्तै आदेश गर्ने भएँ ।’

न्यायाधीशले यसअघि जस्तै हाजिर हुन आएका प्रतिवादीलाई प्रहरीको जिम्मा लगाएर भोलिपल्ट फेरी हाजिर गराउने आदेश गर्ने बताएपछि कानुन व्यवसायीहरूले कुनै प्रतिक्रिया दिएनन् । तर, लामिछानेले हात जोडेर न्यायाधीशलाई भने, ‘स–सम्मान स्विकारेँ श्रीमान् ।’

आदेश आउनुअघि लामिछानेले आफूलाई हिरासतमा नपठाइदिन आग्रह गरे । लामो समय हिरासतमा बसेर काठमाडौँमा आफैँ हाजिर हुन आएको उल्लेख गर्दै इजलासमा लामिछानेले भने, ‘मेरा लागि समय धेरै महत्त्वपूर्ण छ श्रीमान् ।’

रास्वपा अनुशासन आयोगका पूर्वउप्रमुख समेत रहेका अधिवक्ता यज्ञमणी न्यौपानेका अनुसार आज थुनछेक बहस नभएपछि इजलासबाट प्रहरीकै जिम्मा लगाउने आदेश भएको हो ।

‘बयान सकिँदा आज १५/२० मिनेटमात्रै समय बाँकी भयो,’ न्यौपानेले भने, ‘हामीले आजै थुनछेक बहसका लागि आग्रह गरेका थियौं । तर, श्रीमान्ले प्रहरीकै जिम्मा लगाउनुभयो ।’

उनका अनुसार, परिवार वा सरकारी वकिलको जिम्मामा रविलाई छाड्न न्यायाधीश अधिकारीसँग आग्रह गरिएको थियो । यद्यपि उनले उक्त प्रचलन नभएको भन्दै प्रहरीकै जिम्मा दिनुपर्ने बताएको न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार भोलि बिहान ११ बजेबाट थुनछेक बहस सुरु हुनेछ ।

प्रहरी स्रोतका अनुसार रविलाई आइतबार भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिनेछ । सोमबार पुनः अदालत पेस गर्नेगरी उनलाई प्रहरीको जिम्मा लगाइएको छ ।

काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत दुरूपयोग आरोपमा लामिछानेसहित ३९ जनाविरूद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दर्ता भएको थियो। 

लामिछानेको हकमा सरकारी वकिलले पाँच करोड ८ लाख ६९ हजार ६ सय ३३ रुपैयाँ बिगो मागदाबी गरेको छ। सहकारीबाट गोर्खा मिडियामा उक्त रकम गएको भन्दै सञ्चालकद्वय जिबी राई र रविको हकमा बिगो मागदाबी गरेको हो।

रास्वपा सभापति लामिछानेलाई सुर्यदर्शन सहकारी पोखराको मुद्दामा जिल्ला अदालत कास्कीले यसअघि ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।

यसअघि लामिछाने सुर्यदर्शन सहकारी मुद्दामा कास्की प्रहरी हिरासतमा ८४ दिन बसेका थिए।