एमालेले भीम रावललाई संगठित सदस्यबाटै हटायो : ओली अलोकतान्त्रिक, निरंकुश, स्वेच्छाचारी र तानाशाही हुन- रावल

धनगढी । नेकपा एमालेले भीम रावललाई संगठित सदस्यबाट हटाएको छ । एमाले सचिवालय बैठकले उनलाई संगठित सदस्यबाट समेत हटाउने निर्णय गरेको हो ।
एमालेले भिम रावलसहित तीन जनालाई कारबाही गर्ने निर्णय गरेको छ। बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिना पार्टीको जिम्मेवारीबाट हटाएको छ भने पूर्व उपाध्यक्ष भीम रावललाई संगठित सदस्य समेत नरहने गरी पदमुक्त गर्ने निर्णय गरेको हो ।
पाण्डे र तिम्सेनाले नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरूङबाट जग्गा दान लिएर पार्टी कार्यालय बनाउने विषयमा असहमति राखेका थिए। सोही कारण पार्टीले उनीहरूलाई स्पष्टीकरण सोधेको थियो। उनीहरूको जबाफ चित्तबुझ्दो नभएपछि उनीहरूलाई कारबाही गरिएको हो।
यस्तै, पूर्वउपाध्यक्ष रावलले लामो समयदेखि पार्टीको नीतिसँग असहमति राखेर आफ्ना विचार प्रकट गरिरहेको थिए। एमालेले सो निर्णय गरेसँगै रावलले आफू विचलित नहुने बताएका छन्।
‘मलाई कारबाही गर्ने ओली प्रवृत्तिको निरन्तरता हो, यसबाट म विचलित हुन्नँ,’ उनले भने। ओलीको निर्णय अलोकतान्त्रिक, निरंकुश, स्वेच्छाचारी र तानाशाही भएको समेत उनले टिप्पणी गरेका छन्।
‘यो देश, जनता र नेपालको संविधानका पक्षमा उठ्ने आवाजमाथिको दमन हो,’ उनले भने, ‘यो कारबाही अरू इमानदार नेता–कार्यकर्तालाई तर्साउन गरिएको हो । ओलीले पार्टी र सरकारमा मनपरी गर्न यो कारबाही प्रेरित छ ।’
‘केपी ओली राष्ट्र, राष्ट्रियता, देशभक्तिको आवाजबाट आत्तिएर उनले मलाई कारबाही गरेका हुन्,’ उनले भने।





प्रतिकृया दिनुहोस्