रवि लामिछानेविरुद्ध अदालतमा मुद्धा दर्ताको अन्तिम तयारी गरिँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्ध मुद्दा दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण ऐन अनुसार अदालतमा मुद्धा दर्ता गर्न लागेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीले यही पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ ।
पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय जना सर्वसाधारण बचतकर्ताले बचत राखेको रकम गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको आरोप लामिछानेमाथि छ। लामिछाने गोर्खा मिडियाको शेयर सदस्य र प्रवन्ध निर्देशक (एमडी) थिए।
लामिछानेसहित गोर्खा मिडियाको तत्कालीन संचालक एवं पूर्व डिआइजी छविलाल जोशी, लिला पछाई, रामप्रसाद खनाल र कृष्ण गुरुङ विरुद्ध पनि मुद्धा दर्ता गर्ने तयारी छ। उनीहरु पनि सुर्यदर्शन सहकारी ठगी आरोपमा प्रहरीले पक्राउ गरेको थियो।
प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै पुस १ गतेदेखि चार दिनको म्याद अदालतले थपेको थियो । चार दिनको म्याद आज शुक्रबार मध्यराति १२ बजेपछि सकिँदै छ । शनिबार सार्वजनिक बिदा हुने भएकाले सकेसम्म आजै वा आइतबार अदालतमा मुद्दा दर्ता गर्ने तयारी छ ।
‘कानुन बमोजिम ९० दिनभित्र अभियोजन गरिसक्नुपर्ने भएकाले अभियोजन गर्न आइतबारसम्म समयसीमा छ,’ जिल्ला सरकारी वकिलको कार्यालय कास्की स्रोतले भन्यो, ‘सकेसम्म आजै नभए आइतबारसम्म अभियोजन हुन्छ ।’
सहकारी ठगीमा अनुसन्धान गर्न २५ दिन, संगठित अपराधमा ६० दिन, र सम्पत्ति शुद्धीकरण ऐनमा ९० दिन अनुसन्धानका लागि हिरासतमा राख्न पाउने हदम्याद कानुनले दिएको छ। सहकारी ठगी आरोपमा पूर्व डिआइजी पक्राउ परेको शुक्रबार ९० दिन पुगेको छ। हदम्यादको अन्तिम दिन भएकाले जिल्ला सरकारी वकिलको कार्यालयले शुक्रबार जसरी भए पनि अदालतमा मुद्धा दर्ता गर्नुपर्ने कानुनी बाध्यता छ।
सुर्यदर्शन सहकारी ठगीमा यसअघि नै १९ जनालाई प्रतिवादी बनाएर अदालतमा अभियोजन दर्ता भइसकेको छ। शुक्रबार सोही अभियोग पत्रको पूरक अभियोगपत्र लैजान लागेको सरकारी वकिलको कार्यालयले जनाएको छ।
प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयलाई सोमबार बुझाएको प्रतिवेदनमा ५१ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ। थप १४ जनाको ठेगाना नखुलेकाले ठेगाना खुलेपछि अनुसन्धान गर्ने र प्रतिवादी बनाउने राय दिएको कास्की प्रहरीका सुचना अधिकारी डिएसपी वसन्त शर्माले बताए।
उनका अनुसार सुर्यदर्शन सहकारी ठगीमा अहिले ९ जना पुर्पक्षका लागि कारागारमा छन् भने ५ जना हिरासतमा छन्। सहकारी ठगीका मुख्य योजनाकार मानिएका जिबी राइसहित ३७ जना फरार छन्।
प्रहरीले उनीहरुसँग १ अर्ब ५१ करोड ४० लाख रुपैया बिगो असुल गर्न पनि सरकारी वकिलको कार्यालयलाई राय दिएको छ।





प्रतिकृया दिनुहोस्