May 4, 2026, Monday
२०८३ बैशाख २१

घरभित्र निसासिएर आमा-छोराको मृत्यु, छोरी घाइते

सुर्खेत । घरभित्र निसासिएर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर-४ भैरवस्थानको समावेशी टोलमा घरभित्र सुतिरहेका आमा छोराको मृत्यु भएको जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्र वीर विश्वकर्माका अनुसार सोही ठाउँका ३० वर्षीया देवीसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापाको मृत्यु भएको हो।

घाइते भएकी देवीसराका ९ वर्षीया छोरी रिया थापाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको डिएसपी विश्वकर्माले जानकारी दिए।

तीनै जनालाई अस्पताल पुर्‍याइएको थियो। चिकित्सकले आमा र छोरालाई मृत घोषणा गरेका हुन्। घटना बुधबार रातिको भए पनि बिहीबार बिहान साढे ९ बजे मात्र प्रहरीलाई खबर पुगेको थियो।

‘बेलुका खाना खाएर सुतेको देखिन्छ, बिहान अबेरसम्म घरबाट कोही ननिस्किएपछि प्रहरीलाई खबर आएको हो,’ डिएसपी विश्वकर्माले भने, ‘घरभित्र कोइला बालेको र धुवाँमा निसास्सिएको प्रारम्भिक रिपोर्ट छ।’