रवि हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्नेलाई खोज्दै प्रहरी : डा. भुसालले भने-फोटो मैले खिचेको हुँ, माफी चाहन्छु

काठमाडौं। प्रहरीको हिरासतभित्र सुतिरहेको तस्बिर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भएको भन्दै सामाजिक सञ्जालमा भाइरल भेरहेको छ।
बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका सह–कोषाध्यक्ष दीपक बोहराले सामाजिक सञ्जालमा एउटा तस्बिर पोस्ट गर्दै सरकार र नेपाल प्रहरीमाथि प्रश्न तेर्साए । उक्त तस्बिर हाल कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका पार्टी सभापति रवि लामिछानेको रहेको बोहराको दाबी गरिएको छ ।
यो फोटो रास्वपा सभापति लामिछानेको हो कि होइन भन्ने प्रहरीले पुष्टि गरिसकेको छैन। तर जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्त शर्माले यसबारे प्रहरीले अनुसन्धान गरि रहेको बताएका छन्।
‘यो फोटोको वास्तविकता र खिच्ने तथा पोस्ट गर्ने व्यक्तिको खोजी भइरहेको छ, प्रहरीले अनुसन्धान गरिराखेको छ,’ उनले भने, ‘फोटो खिच्ने र सार्वजनिक गर्ने व्यक्ति पहिचान गरेपछि प्रचलित कानुनअनुसार कारबाही अघि बढ्छ।’
तर डा. निकोलस भुसालले भने उक्त तस्बिर रवि लामिछानेकै भएको र आफूले खिचेको दाबी गरेका छन्। यसमा कुनै खराब नियत नभएको भन्दै उनले गल्ती महसुस गर्दै माफी मागेका छन् ।
रविका समर्थकहरुले प्रहरीले हिरासतभित्रको फोटो सार्वजनिक गरिदिएको भन्दै आलोचना गरिरहेका छन् । तर भुसालले त्यो फोटो प्रहरीले सार्वजनिक नगरेको बताएका छन् । ‘यो पुलिसले ल्याएको होइन, म दोषी छु यसमा । मैले यो फोटो बाहिर ल्याएको हुँ,’ भुसालले एक भिडियोमा भनेका छन्, ‘यसवाफत नेपाल प्रहरी र नेपाल सरकारसँग माफी माग्न चाहन्छु ।’
‘रवि दाइलाई भेटिसकेपछि पुलिसकै अगाडि मैले उक्त फोटो खिचेको हो, रवि लामिछानेको अवस्था के छ भनेर म स्वास्थ्य जाँच गर्न गएको थिएँ,’ भुसालले एक भिडिओमा दाबी गरेका छन्, ‘रवि लामिछानेको अवस्था देखाउन पनि मैले यो तस्बिर फेसबुकमा पोस्ट गरेको थिएँ।’
डा. भुसालले दुई दिन अघि नै यो फोटो फेसबुकमा राखेर पछि डिलिट गरेका थिए । बुधबार रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले त्यो फोटो फेसबुकमा राखेपछि अहिले भाइरल भइरहेको हो ।
रास्वपा सभापति लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए। उनलाई सोही दिन कास्की लगिएको थियो।
लामिछानेलाई हिरासतमा राख्न प्रहरीले पछिल्लो पटक कास्की जिल्ला चार दिनको म्याद लिएको थियो। लामिछानेविरूद्ध शुक्रबारभित्रै कास्की अदालतमा मुद्दा पेस गरिसक्नुपर्छ।





प्रतिकृया दिनुहोस्