रवि लामिछानेलाई अदालत उपस्थित गराइयो, ४ दिन म्याद थपको माग

पोखरा । रास्वपा सभापति रवि लामिछाने सहित ५ जनालाई अदालत उपस्थित गराइएको छ । प्रहरीले ४ दिन म्याद थपको माग गर्दै लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराएको अदालतका स्रेस्तेदार राजन खनालले बताएका हुन ।
सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका क्रममा रहेका उनीहरूलाई आज पनि म्याद थपको माग सरकारी वकिल कार्यालयले गरेको छ । प्रहरीले अनुसन्धान रिपोर्ट बुझाए पनि अध्ययन गर्न समय लाग्ने भएकोले म्याद थप मागिएको हो । पुस ५ भित्रै सबै जनाको अभियोग पत्र दर्ता हुने न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् ।
उनका अनुसार प्रहरीले दिएको राय हुबहु कार्यान्वयन गर्ने वा नगर्ने निर्णय सरकारी वकिल कार्यालयले गर्नेछ । सूर्यदर्शन सहकारी ठगीमा ५१ जना प्रतिवादी र १ अर्ब ५१ करोड बीगो माग सहित प्रहरीले प्रतिवेदन तयार गरेको डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
लामिछाने गत कात्तिक ३ गतेदेखि कास्की प्रहरी हिरासतमा छन् । कास्की प्रहरीले लामिछानेविरुद्ध अनुसन्धान सकेर सोमबार सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ ।
प्रहरीले पोखराको सूर्यदर्शन सहकारीका १८ हजार ७ सय सर्वसाधारणको बचत अपचलनमा अन्य ५० जनालाई जस्तै रास्वपा सभापति रवि लामिछानेलाई पनि मुद्दा चलाउने सिफारिससहित प्रतिवेदन बुझाएको छ । लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा चारदेखि ६ वर्ष तथा थप ५० प्रतिशत र सम्पत्ति शुद्धीकरणमा दुईदेखि १५ वर्ष कैद र २८ करोड बिगो र त्यति नै जरिवाना असुल गर्ने मागसहित मुद्दा चलाउन सिफारिस गरिएको हो ।
सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका तथा फरार रहेका १९ व्यक्तिविरुद्ध २०८० असोज १८ मा मुद्दा दर्ता भइसकेको छ । मुद्दा चलाइएकामध्ये गोर्खा मिडिया नेटवर्कका अध्यक्षसमेत रहेका जीबी राई फरार छन्, सोही कम्पनीका सञ्चालक कुमार रम्तेल पुर्पक्षका लागि २०८० भदौदेखि कास्की कारागारमा छन् ।
अब लामिछानेसहित ३२ जनलाई मुद्दा चलाउन र समग्रमा सहकारीको कुल १ अर्ब ३५ करोड असुल गर्न प्रहरीको राय छ ।
सूर्यदर्शन सहकारीबाट गितेन्द्रबाबु (जीबी) राईमार्फत लामिछानेको ग्लोबल आईएमई बैंकको खातामा ७५ लाख जम्मा भएको तथा सूर्यदर्शन सहकारीमा नै लामिछानेको नाममा पेस्की जनाई ५० लाख गोर्खा मिडियामा भुक्तान भएको प्रमाण भेटिएको प्रहरीको दाबी छ । त्यस्तै, सूर्यदर्शनसहितका सहकारीको रकम अपचलन गरी लामिछाने सेयरधनी तथा प्रबन्ध निर्देशक भएको समयावधिमा गोर्खा मिडिया नेटवर्कमा २६ करोड १४ लाख ४४ हजार रकमान्तर भएको प्रहरीको दाबी छ । यसरी कुल २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँ बिगो दाबी गरिएको हो ।





प्रतिकृया दिनुहोस्