May 4, 2026, Monday
२०८३ बैशाख २१

निर्वाहभत्ताको निर्णय नमान्ने कलेजमा स्नातकोत्तर कार्यक्रम बन्द गर्नुपर्छ : डा. केसी

काठमाडौं । डा. गोविन्द केसीले हालको आवासीय चिकित्सकहरूको निर्वाह भत्ता विवादको समाधानको माग गरेका छन्। 

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको लागि लडिरहेका डा. केसीले निजी मेडिकल कलेजहरूले चिकित्सकहरूलाई दिइरहेका भत्तामा ठूलो कटौती गरेको भन्दै चिकित्सा शिक्षा आयोगको निर्णय तुरुन्त कार्यान्वयन गर्नुपर्ने बताए। 

उनले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘ नेपालमा चिकित्सक र स्वास्थ्यकर्मीहरूको श्रम शोषण भइरहेको विषय त हामीले यस अघिदेखि नै बारम्बार उठाउँदै आएका छौँ। पछिल्लो समय भने आवासीय चिकित्सकहरूको श्रम शोषणले सबै सीमा नाघेको छ। अस्पतालको सेवाको ठूलो हिस्साका लागि त्यस्ता चिकित्सकमा भर पर्ने निजी मेडिकल कलेजहरूले उनीहरूलाई दिनुपर्ने निर्वाह भत्ताको एक चौथाइ हाराहारी मात्रै दिइरहेका छन्।’

हाल चिकित्सा शिक्षा आयोगले सबैतिर एकैनास कायम गर्न खोजेको  निर्वाहभत्ता सम्बन्धी निर्णय तत्काल विनाशर्त कार्यान्वयन गर्न उनको माग छ। चेतावनी दिदैँ उनले ‘अटेर गर्ने सबै कलेजहरूमा स्नातकोत्तर कार्यक्रम सदाका लागि बन्द गरी निर्णय मान्ने कलेजहरूमा मात्रै उक्त तहका कार्यक्रम सुचारु गर्न सम्बन्धित पक्षहरूसँग जोडदार माग गर्दछु’ भनेका छन्।

उनले सरकारसँग सरकारी कलेजहरूको विस्तार, स्वास्थ्यकर्मीहरूको तलब र सुविधामा वृद्धि तथा स्वास्थ्य संस्थामा दरबन्दी थप गर्न पनि माग गरेका छन्। केसीका अनुसार, सबै नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार र योग्यताका आधारमा निःशुल्क चिकित्सा शिक्षा सुनिश्चित गर्न आवश्यक छ।

उनले आफूसँग विगतमा सरकारले गरेका सहमति कार्यान्वयन गर्न र चिकित्सक अनि स्वास्थ्यकर्मीहरुको समयसापेक्ष तलब सुविधा वृद्धि गर्न पनि माग गरेका छन् ।