May 4, 2026, Monday
२०८३ बैशाख २१

पूर्व सभामुख ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौँ । सरकारले प्रतिनिधिसभाका पूर्व सभामुख स्वर्गीय दमननाथ ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले ढुङ्गानाको निधनमा गहिरो शोक व्यक्त गर्दै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद बैठकले ढुङ्गानाको सम्मानमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ। निधनको शोकमा आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन।

हिजो निधन भएका ढुङ्गानालाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि सानो गौचरनमा राखिएको छ। ढुङ्गानाको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री केपी शर्मा ओली सहितका शीर्ष नेता पुग्ने बताइएको छ।

केही समयदेखि अस्वस्थ्य रहेका ढुङ्गानाको उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार निधन भएको थियो। उनी कलेजो सम्बन्धी रोगबाट पीडित थिए।

पूर्वसभामुख ढुंगानाको आइतबार दिउँसो २ बजे काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। 

स्वर्गिय ढुङ्गाना संविधान र कानूनका ज्ञाता थिए। वरिष्ठ अधिवक्तासमेत रहेका ढुङ्गाना प्रजातन्त्र स्थापनापछिका पहिलो सभामुख हुन्। प्रजातन्त्र पुनर्स्थापनापछि २०४७ को संविधान जारी गर्न उनले निभाएको भूमिका प्रशंसनीय मानिन्छ ।

वरिष्ठ अधिवक्ता ढुंगाना २०४८ सालदेखि २०५१ सालसम्म सभामुख बनेका थिए । उनी सरकार–माओवादी शान्तिवार्ताका सहजकर्तासमेत थिए ।