कुटपिटबाट मारिएका पत्रकार भुलको घटना अनुसन्धान गर्न खटायो महासंघले मिसन टोली

धनगढी। नेपाल पत्रकार महासंघले कुटपिटबाट मारिएका पत्रकार सुरेश भुलको घटनाको अनुसन्धानका लागि मिसन टोली खटाएको छ । महासंघले सचिव हेमकर्ण विकको संयोजकत्वमा मिसन टोली खटिएको विहिबार प्रेस विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो ।
मिसन टोलीले १५ दिनभित्र घटनाको सत्यतथ्य सहितको प्रतिवेदन पेश गर्ने महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
प्रहरीका अनुसार कैलालीको गौरीगंगा नगरपालिका ११ कान्तिपुर टोल बस्ने भुललाई कात्तिक २५ गते साँझ ५ बजेतिर सामान्य विवादमा सोही ठाउँकका स्थानियको समूहले निर्मम कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते सुरेशको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा एक दिनपछि २६ गते निधन भएको थियो ।
महासंघले भुलको मृत्युप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ भने घटनामा संलग्न दोषीलाई तत्काल कानूनी कारबाहीको दायरमा ल्याउन महासंघले सरकारसँग माग गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले मुद्दा दर्ता गरेर अनुसन्धान गरी रहेको बताएका छन् । अहिले सम्म घटनामा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको उनले बताए ।
प्रहरीले पत्रकार भुललाई स्थानियले बाख्रा चोरीको आरोपमा कुटपिट गरेको बताएको थियो । तर नेपाल पत्रकार महासंघका सुदूर पश्चिम प्रदेशका अध्यक्ष योगेस रावल स्थलगत अनुगमन पछि पत्रकार सुरेश भूलको हत्या बाख्रा हराउनु र भेटिनुमा मात्र सिमित छैन। उनलाई नियोजित रुपमा आक्रमण गरिएको बताउछन्।
‘भुल संचारकर्मी र सूचनाको हकका अभियन्ताका रुपमा सक्रिय थिए। उनी केही व्यक्तिको निसानामा थिए। ती व्यक्तिहरुले नियोजित रुपमा बाख्रा भेटिएको बिषयलाई आफु अनुकुल प्रयोग गरे। र एक सशक्त युवा पत्रकारको ज्यान समाप्त पारे।’
अध्यक्ष रावल भन्छन् ‘उनको पक्कि सडक संगै गाउँमा पक्कि घर छ। वडा कार्यालय अघि मेडिकल र फोटो स्टुडियो छ। आफु सिएमए हुन मेडिकलमा बिरामीको उपचार गर्थे। उनकी श्रीमती स्वास्थ्य चौकीमा काम गर्छन। उनी कसैको हराएको बाख्रा बेचेर खाने हैसियत भएको मान्छे हैन। तर उनी माथि बाख्रा चोरेको आरोप लगाएर आक्रमण गरियो। ती आक्रमण गर्नेहरु टाढाबाट आएका छन।’
अहिलेसम्म घटनास्थलमा अनुसन्धान गर्न न प्रहरी पुगेको छ न कुनै अधिकारवादी संघ सस्था पुगेका छन। उनले भने ।






प्रतिकृया दिनुहोस्