May 4, 2026, Monday
२०८३ बैशाख २१

रवि लामिछानेलाई फेरी दिइयो १० दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई फेरी १० दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिएका हुन । उक्त म्याद थपको समय कात्तिक १५ गतेदेखि गणना भएर कात्तिक २४ मा सकिनेछ । 

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार लामिछानेलगायत ५ जनालाई हिरासतमा राख्ने म्याद १० दिन थपेको हो ।

लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, उस्तै कसुरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई १० दिन हिरासतमा राख्न म्याद थप गरिएको हो ।

लामिछानेलाई कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की ल्याइएको थियो । लामिछानेलाई सुरुमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । कात्तिक १४ मा म्याद सकिए पनि तिहार बिदा भएकाले मंगलबार उनलाई अदालतमा उपस्थित गराइएको हो ।