दुई युवाले चलाएको चियादानी

काठमाडौँ । चिया पिउने संस्कृति पछिल्ला वर्षदेखि काठमाडौंभित्र ह्वात्तै बढेको छ । मेनुमा विभिन्न किसिमका चिया मात्रै राखेर पनि मज्जैले व्यवसाय चलाउन थालिएका छन् । पारखीका लागि यस्ता चिया हब स्वाद लिँदै गफिने थलो बन्दै गएको देखिन्छ ।
देशमा नै केही इलम गर्नुपर्छ भन्ने सानैदेखिको अठोट बोकेका थिए, स्याङ्जाको आँधीखोला गाउँपालिका–५ का सुवास शर्माले । फलस्वरूप २४ वर्षकै उमेरमा उनले ५ वर्षअघि चियादानी नामकरण गरेर पोखरामा नै चिया बेच्ने व्यवसाय थाले । त्यस बेला सुवास स्नातक तहको पढाइ सकेपछि करिअरको चिन्तामा थिए । गाउँघरका आफूसरहका प्रायः युवा विदेशिरहेको देखेका उनको मनमा पनि विदेश नै हान्निनेसम्मको योजना नबनेको पनि होइन ।
‘पढाइ सकेपछि के गर्ने कसो गर्ने भनेर यसै बरालिरहेको थिएँ । मनमा अनेक सोच आउँथे । एक मनले विदेश जानुपर्यो भन्यो । अर्को तरिकाले सोच्थें, नेपालमै बसेर केही गर्नुपर्छ भन्ने,’ आफैं पनि चियाका पारखी सुवासले थपे, ‘यत्तिकैमा सामान्य लगानीमा पोखरामै चिया बेच्दा राम्रै होला कि भन्ने सोच आयो, जबकि त्यतिखेर चिया मात्रै बेच्ने गरी पोखरामा छुट्टै पसल खोलिएको मलाई जानकारी थिएन ।’ छोटो समयमै चियादानी ग्राहकमाझ लोकप्रिय हुँदै गएपछि भने सुवासको विदेश जाने मनस्थितिमा परिवर्तन आयो । बरु यही व्यवसायलाई फैलाउँदै लाने सोच बनाए ।
फरक–फरक स्वादमा चिया बेच्न थालेपछि सुवासको चियादानी सबै उमेर समूहका ग्राहकमा चर्चित बन्यो । सोचेभन्दा पनि राम्रो तरिकाले व्यवसाय चल्न थालेपछि उनले ४ वर्ष अगाडि चितवनमा पनि चियादानीको नयाँ ब्रान्च खोले । गत वर्षको पुसदेखि भने उनले यसलाई काठमाडौंमा पनि विस्तार गर्ने सोच बनाए ।
त्यसलाई मूर्त रूप दिँदै दुई महिनाअघि मात्रै शंखमूलको ओरालोमा अछामको रामारोशन गाउँपालिका—४ बाटुलासेनका २५ वर्षीय केपी खनालसँग सहकार्य गर्दै चियादानीको पछिल्लो ब्रान्च खोलेका छन् । सुवास र केपी अचेल यहाँ आफैंले चिया पकाएर पारखीलाई स्वाद चखाइरहेका छन् । शान्त र घरेलु वातावरणमा बसेर चिया पिउन आउनेको यहाँ दिनहुँ भीड लाग्छ । चियादानीमा नै आएर चियाको चुस्की लगाउँदै ‘देशमा न रोजगारी छ, न काम गर्ने वातावरण’ भन्दै विदेश ताकिरहेका युवाहरूको गफ सुन्दा सुवास ५ वर्षअघिको आफ्नै अवस्था सोच्छन् ।
काठमाडौंको चियादानीमा दिनहुँ १५ सयसम्मलाई चिया खुवाइरहेका छन्, युवाद्वय केपी र सुवासले । चिया मात्रै बेच्दैनन्, उनीहरूले १९ जना युवालाई रोजगारी पनि दिइरहेका छन् । केपी सामाजिक अभियन्ता पनि हुन् । उनी लामो समयदेखि सरसफाइको क्षेत्रमा काम गर्दै आइरहेका छन् । सामान्य परिवारका उनका बुबाआमा भने अहिले पनि कामको सिलसिलामा भारतमा छन् ।
सरसफाइको सामाजिक अभियानबाट आफ्नो पहिचान बनाइरहेका केपी अर्थोपार्जनका लागि केही न केही व्यवसाय गर्नुपर्छ भन्ने सोचले चियादानीमा लागेको बताउँछन् । ‘सामाजिक अभियन्ताका नाममा विकृति बढेको छ । अभियन्ता भनेका जागिरे होइनन् । आफ्नो छुट्टै व्यवसाय हुनुपर्छ भन्ने लागेपछि सुवास दाइसँग मेरो भेट भयो,’ केपीले भने, ‘दाइले पहिले नै पोखरा र चितवनमा चिया व्यवसाय गरिराख्नुभएको रहेछ । उहाँसँग भेट भएपछि सहकार्य गरेर काठमाडौंमा पनि व्यवसाय सुरु गर्ने निधो गर्यौं ।’
केपी १० वर्षअघि नै टीकापुरमा बाल पत्रकारका रूपमा चिनिएका थिए । त्यसपछि उनी अध्ययनका क्रममा काठमाडौं आएका हुन् । काठमाडौंमा बस्न थालेपछि मीनभवनको नेपाल कमर्स क्याम्पसमा भर्ना भए । अनि पढाइसँगै उनले ‘म बदलिन्छु, मेरो देश बदलिन्छ’, ‘क्लिन काष्ठमाण्डप’ जस्ता सफाइ अभियान पनि सुरु गरे । अभियानका क्रममा हजारौं युवा, राजनीतिज्ञ, व्यवसायीको साथ पाए । सडकमै आएर सरसफाइमा साथ दिनेको संख्या बढ्दै गयो । आफ्ना अभियानलाई निरन्तरता दिँदै व्यवसायमा होमिएका केपी भन्छन्, ‘नेपालमा केही गर्न सकिँदैन, विदेश नै अन्तिम विकल्प हो भनेर युवाहरू विदेशकै पछाडि लागिरहेका छन् । केही गरौं भन्ने सोचेर लाग्ने हो भने स्वदेशमा पनि राम्रा अवसर छन् ।’
आर्थिक अवस्था कमजोर हुँदैमा व्यवसाय गर्न सकिँदैन भन्ने तर्कमा केपी सहमत छैनन् । भन्छन्, ‘मेरो बुबाआमा अहिले पनि भारतमा काम गर्नुहुन्छ । परिवारको सहयोगले यही व्यवसाय सञ्चालन गर्नका लागि बैंकबाट ऋण लिएँ । अहिले हामीले ५० लाखभन्दा बढीको लगानी लगाइसकेका छौं । एक दिनमा १२ सय जनाभन्दा बढी हाम्रोमा आउनुहुन्छ । आम्दानी पनि राम्रै छ ।’
काठमाडौं, पोखरा र चितवनमा चिया व्यवसायबाट करिब ३५ जनालाई रोजगारी दिएको सुवासले बताए । ‘काठमाडौंको चियादानीमा म आफैं चिया पकाउँछु । स्वादिष्ट चिया बनाउनुपर्छ भन्नेमा बढी जोड दिन्छु । काठमाडौंमा सोचेभन्दा राम्रो चलिरहेको छ,’ उनले भने ।
आगामी दिनमा देशका अन्य ठाउँमा पनि चियादानीका शाखा खोल्ने योजना रहेको उनले बताए । ‘देशमा बस्न खोज्ने, व्यवसाय गर्न चाहनेसँग सहकार्य गर्न हामी जहिले पनि तयार छौं,’ सुवास थप्छन्, ‘विदेश नै सबै विकल्प होइन, मनैबाट आँट्यो भने नेपालमा धेरै थोक गर्न सकिन्छ । हामीसँग सहकार्य गर्न आउने युवालाई हामी स्वागत गर्न आतुर छौं ।’ कान्तिपुरबाट
लेखकको सम्वन्धमा