May 4, 2026, Monday
२०८३ बैशाख २१

३२ औँ प्रधानन्यायाधीशको रूपमा प्रकाशमानसिंह राउत नियुक्त, लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । सर्वोच्च अदालतको ३२ औँ प्रधानन्यायाधीशको रूपमा प्रकाशमान सिंह राउत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

संवैधानिक परिषदको सिफारिसमा आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्। राष्ट्रपति भवनमा दिउँसो प्रधानन्यायाधीशको शपथ समारोह आयोजना गरी उनलाई पद तथा गोपनीयताको शपथ खुवाइएको हो ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, उपसभामुख, मन्त्रीहरू, सर्वोच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।

शपथपछि आजै पदभार ग्रहणका लागि सर्वोच्च अदालतले  प्रशासनले थालेको छ। नयाँ प्रधान न्यायाधीश राउतलाई वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले स्वागत गर्ने छिन् । संवैधानिक परिषद्ले वरिष्ठतम् न्यायाधीश राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न गत भदौ ३१ गते सिफारिस गरेको थियो।

यसअघि असोज १६ गते राउतको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतले अनुमोदित भएको थियो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १९ मा अनिवार्य अवकाश गएपछि राउतले न्यायालयको नेतृत्व सम्हाल्ने जिम्मा पाएका हुन् । राउतको कार्यकाल प्रधानन्यायाधीशका रूपमा २०८२ चैतसम्म रहनेछ ।

सर्वोच्च अदालतसहित देशभरका अदालत भने  घटस्थापनाकै दिनदेखि दसैँ बिदा लागू भएको छ। सर्वोच्च अदालत र विभिन्न अदालतमा बन्दी प्रत्यक्षीकरण सुनुवाइका लागि भने खुल्ला राखिएको छ।  यसका लागि न्यायाधीश र कर्मचारीको पालो मिलाइएको छ।

सन् १९६१ मा उदयपुरमा जन्मिएका राउत सन् २०१६ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । सन् १९८३ देखि २०१६ सम्म अधिवक्ता तथा वरिष्ठ अधिवक्ताका रूपमा वकालत गरेका थिए । उनी देवानी, फौजदारी र संवैधानिक कानुनका विज्ञ मानिन्छन् । उनी सन् २०१६ सर्वोच्च अदालत बार एसोसियसनका अध्यक्षसमेत बनेका थिए ।

कानूनमा स्नातक गरेका राउत कानून व्यवसायमा हुँदा देवानी, फौजदारी एवं संवैधानिक मामिलामा रुचि राख्थे । त्यतिबेला उनी विभिन्न सार्वजनिक र निजी संस्थाहरुमा कानूनी सल्लाहकारको रुपमा संलग्न थिए ।