बाढीपहिरो पीडितका लागि ५० लाख सहयोग गर्ने कांग्रेसको निर्णय‚ सांसदले १५ दिनको तलब सहयोग गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले पचास लाख सरकारको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । आज पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बाढीपहिरो पीडितका लागि राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
‘बाढीपीडितको सहयोगका लागि कांग्रेसले तत्काल ५० लाख सरकारको कोषमा जम्मा गर्ने निर्णय भएको छ,’ प्रवक्ता महतले भने, ‘संसदीय दलले पनि सांसदहरूको १५ दिनको पारिश्रमिक दिने निर्णय भएको छ।’
उनकाअनुसार कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई बाढीपहिरोमा परेकाहरूको उद्धार तथा राहतमा जुट्न पनि निर्देशन दिइएको छ।
कांग्रेसले बाढी पहिरोबाट बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र गर्न सरकारसँग माग गरेको छ। बेपत्ताको खोजीलाई तीव्र गर्न सरकारको ध्यानाकर्षण गराउँदै सबै घाइतेको निःशुल्क उपचार चाँडोभन्दा चाँडो गर्न पनि सरकारसँग माग गरेको हो।
संगठन सुदृढीकरण अभियानका लागि जिल्ला-जिल्लामा खटिएका केन्द्रीय सदस्यहरू राहत र उद्धार कार्यमा संयोजन गर्न पनि कांग्रेसले निर्देशन दिएको छ। संगठन सुदृढीकरणका अभियान भने कोजाग्रत पूर्णिमासम्मका लागि स्थगित भएको छ।
साथै कांग्रेसले अवरूद्ध भएका सडकहरू तत्काल मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
कांग्रेसले पार्टीको सम्पूर्ण ध्यान राहत तथा उद्धारमा लगाइने निर्णय गरेको भन्दै प्रवक्ता महतले कोजाग्रत पूर्णिमामा गर्दै आइएको चियापान पनि स्थगित गरिएको जानकारी दिए।





प्रतिकृया दिनुहोस्