झ्याप्ले खोला पहिरोबाट ३० वटा शव निकालियो, सम्पर्कमा नआएका यात्रुलाई खोज्दै प्रहरी

काठमाडौं । धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९ वटा शव निकालिएको छ। सशस्त्र प्रहरी प्रवक्ता कुमार न्यौपानेले विंगर र बसभित्रबाट ती शवहरू निकालिएको जानकारी दिएका हुन।
यसअघि शनिवार साँझ १४ वटा शव निकालिएको थियो। आइतबार बिहान स्काभेटर लगाएर पहिरो हटाउनेक्रममा बसबाट थप शवहरू भेटिन थालेको हो। उक्त पहिरोमा कति वटा सवारी साधन पुरिएका छन् भन्नेबारे अझै यकिन हुन सकेको छैन।
प्रहरीले पृथ्वी राजमार्गको नागढुंगादेखि सिम्लेसम्म सम्पर्कविहीन भइरहेका यात्रुहरूको खोजी कार्यलाई तीव्रता दिएको छ। सशस्त्र प्रहरी बलका अनुसार उक्त पहिरो एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएका हुन् ।
चितवनबाट काठमाडौंका लागि आएको माइक्रोबस पनि आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको छ । उक्त माइक्रो बसबाट १३ जनाको शव निकालिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ ।
सशस्त्र प्रहरी बल, नेपालका प्रवक्ता न्यौपानेका अनुसार चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस पहिरोमा पुरिएको हो । प्रवक्ता न्यौपानेका अनुसार उक्त माइक्रो बसबाट ४ महिला र ९ पुरुषको शव निकालिएको छ ।
पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशंकामा खोजी कार्य जारी रहेको उनले बताए । त्यही पहिरोमा गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस पनि पहिरोमा पुरिएको अवस्थामा फेला परेको छ । उक्त बसबाट ३ जना पुरुषको शव निकालिएको छ ।
त्यसैगरी बुटवलबाट काठमाडौं आइरहेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस पहिरोमा पुरिँदा १४ जनाको मृत्यु भएको छ ।माइक्रोबसबाट आठ पुरुष, पाँच महिला र एक बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ ।
झ्याप्ले खोलामा उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरीहरूका अनुसार झ्याप्ले खोलामा कति गाडी र कति यात्रु परेका छन् भन्ने यकिन भइसकेको छैन।
नागढुंगा र सिम्ले क्षेत्रमा सम्पर्कमा आएका तर रातिका समयमा पहिरोमा परेर सम्पर्कविहीन भएका यात्रुहरू छन् भने खोजी भइरहेको प्रहरीको भनाइ छ। झ्याप्ले खोलामा भेटिएका शवहरू महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको पनि प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पुरिएका माइक्रो तथा बसहरू निकाल्ने काम भइरहेको छ। जाममा परेका यात्रु बोकेका गाडीहरू झ्याप्ले खोलामा पुरिएका थिए।
घटनास्थलमा १ सय हाराहारी सुरक्षाकर्मी परिचालन गरिएको छ भने ३ वटा जेसिवी मार्फत पहिरो हटाउने काम भइरहेको छ । पहिरो पन्छाउने जारी रहेकोले दुबैतर्फ सवारी साधन रोकिएका छन् ।
शनिबार गएको सो स्थानको पहिरो पन्छाउन समय लाग्ने बताइएको छ । पहिरोकै कारण पृथ्वी राजमार्ग भएर काठमाडौँ आवाजामन ठप्प छ।





प्रतिकृया दिनुहोस्