May 4, 2026, Monday
२०८३ बैशाख २१

आज सातै प्रदेशमा लगातार झरीको सम्भावना : यी चार प्रदेशमा धेरै भारी वर्षा हुने

काठमाडौं । आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ। आज सातै प्रदेशमा लगातार झरी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । भोलिदेखि भने पूर्वी भागतिर कम पानी पर्ने र पश्चिमतिर पानी पर्ने क्रम बढ्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव पनि रहेको महाशाखाले जनाएको छ। सो प्रणालीको प्रभावका कारण शुक्रबार बिहान देशभरका अधिकांश स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

शनिबार दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने महाशाखाले जनाएको छ। त्यस्तै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र  कर्णाली  प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ।

शुक्रबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षा हुने प्रक्षेपण समेत गरिएको छ। शुक्रबार राति  देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।साथै  बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा  धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका तराई भू-भागका केही स्थानहरूमा राति पनि हावा हुरीको समेत सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको  जोखिम, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्ने जोखिम तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जन-जीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले भने, ‘आज लगातार झरी पर्ने सम्भावना छ र भोलि पूर्वतिर खुल्दै जान्छ तर पश्चिमतिर बढ्दै जाने देखिन्छ ।’ आइतबारदेखि भने देशभर नै मौसममा क्रमिक सुधार देखिँदै जाने सम्भावना रहेको उनले बताए ।

आज र भोलि रात्रि बस चलाउन रोक

गत मंगलबारदेखि सुरु भएको वर्षा देशभर फैलिँदै गएको छ । दुई दिनअघि नै मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरी यो वर्षाबाट ५६ जिल्लालाई उच्च जोखिममा पर्ने आँकलन सार्वजनिक गरेको थियो । केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले त्यसबाट जोगिन देशभर नै उच्च सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

त्यसैको आधारमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि हिमाली र पहाडी जिल्लामा रात्रिबस नचलाउन अनुरोध गरेको छ ।

साथै तराईका होचा भूभागमा डुबानको जोखिम पनि भएकाले सकेसम्म भुइँतलामा अन्नपात नराख्न पनि भनिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आगामी २४ घण्टा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने धेरै भारी वर्षाको पनि सम्भावना रहेको झाले बताए ।

गत २४ घण्टामा केचना र विराटनगरमा सबैभन्दा बढी वर्षा

गत २४ घण्टाको वर्षाको विवरण हेर्दा पूर्वी र पश्चिम तराईमा धेरै वर्षा भएको देखिन्छ भने बाँकी भागमा मध्यम र हल्का वर्षा भएको छ ।

गत २४ घण्टामा झापाको केचना र मोरङको विराटनगर एयरपोर्टमा सबैभन्दा बढी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केचनामा १७५ मिलिमिटर र विराटनगर एयरपोर्टमा १५१ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

झापाको गौरादह, उदयपुरको सुन्दरपुर र सप्तरीको रुपना बजारमा पनि अत्यधिक वर्षा भएको छ । यसैगरी झापाकै चन्द्रगढी एयरपोर्ट, इलामको कन्काईमाई चुली, कन्याम टि स्टेट, सप्तरीको कल्याणपुर, सिरहा र कैलालीको अत्तरियामा  एकसय मिलिमिटर भन्दा बढी वर्षा भएको छ ।