May 4, 2026, Monday
२०८३ बैशाख २१

डोटीमा डेढ लाख दिएर मिलाईयो जबरजस्ती करणीको घटना, प्रहरी भन्छन्- ‘जानकारी छैन’

डोटी । जबरजस्ती करणीको घटना डेढ लाख दिएर मिलाएको खवर बाहिरिएको छ । डोटीको बडिकेदार गाउँपालिका- ४ मा एक युवतीको जबरजस्ती करणी भएको तथ्य बाहिरिएको हो ।

घटना साउन २१ गते रातिको भएपनि ढिलोगरी बाहिरीएको हो । तर प्रहरी भने अझै बेखबर रहेको छ । गाउँका जान्ने बुझ्नेलाई पीडकले जम्मागरी पीडितका परिवारलाई आर्थिक प्रलोभन देखाएर घटना लुकाउने प्रयास गरेता पनि अन्तः यो घटना बाहिर आएको हो ।

स्रोतका अनुसार गाउँपालिकाको वडा नम्बर ४ की २१ वर्षीय युवतीको २१ गते राति दाङ निवासी पवन शाहीले जवरजस्तीकरणी गरेको बताइएको छ । अत्तरियास्थित दिव्या रोजिन एण्ड टार्पेनटाइन प्रा.लि. मा कार्यरत शाही फिल्डको क्रममा बडिकेदार पुगेका थिए ।

कम्पनीमै कार्यरत स्थानीय समेत रहेका भक्त जेठाराले थाहा पाएपछि घटना बाहिरीएको हो । पीडकलाई पिडीतको गाउँ लगेर गाउँका मुख्या रामबहादुर मौनी, भक्त जेठारा, श्री कालिका आधारभूत विद्यालय छेडाका शिक्षक चक्र बिठारीसमेत गाउँका मानिस जम्मा भएर दुई लाख ५० हजार रुपैयाँ तिरेर घट्ना मिलाउन दवाव दिएपनि पीडक शाहीले सो रकम तिर्न नसक्ने र एक लाख ५० हजार मात्र दिन सक्ने सर्तमा घटना मिलाइएको स्रोतले बताएको छ ।

शाहीलाई चक्र बिठारीले ४० हजार, बडिकेदार गाउँपालिका वडा नम्बर २ खड्यौलीमा व्यवसाय गर्दै आएका मान बिठारीले १० हजार र अर्का व्यवसायी एकम जेठाराले एक लाख पीडक शाहीलाई दिएका थिए । पीडक शाहीले सो रकम पीडित युवतीको बुवालाई दिएर घटना मिलाईएको बताइएको छ । शाहीले कर्जाको रुपमा पैसा मागेकोले दिएको बताउँदै चक्र बिठारीले भने, अहिले शाहीले पैसा फिर्ता गरिसकेका छन् ।

पीडितका अंकलले भने, ‘घटना वास्तविक भएको हो । त्यसैले त डेढ लाख दिएको हो ।’ प्रहरी चौकी खड्यौंली डोटीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक बिरादत्त पन्तले घटनाबारे बाहिरबाट जानकारी पाएपछि पीडित भनिएकाको अंकलको मोबाईलमा फोन गरेर पीडितको बुवासंग कुरा भएको बताए ।

‘मैलै पीडितको बुवासंग कुरा गरे’ प्रहरी सहायक निरीक्षक पन्तले भने, ‘पीडितका बुवाले घटना भएको स्वीकार गरेको र गरिव भएकाले लेनदेन गरेर घटना साम्य पारेको स्वीकार गरे ।’

‘मैले घटनाबारे जाहेरी दिन पीडितको बुवालाई जाहेरी दिन भनेको छु’ पन्तले भने, ‘आउछु त भनेका छन् तर पुगेका छैनन् ।’ पीडक युवक दाङको भएको र त्यतै गएको तथा पीडीत युवती कैलालीको बर्दगोरीया गएको जानकारीमा आएको उनले बताए ।

ईलाका प्रहरी कार्यालय विपीनगरका ईन्चार्ज प्रहरी निरीक्षक खेम विक्रम के.सी.ले सो विषयमा जानकारी नभएको बताए । मैले यस विषयमा बोल्न मिल्दैन हाम्रो प्रवक्ता डोटीमा हुनुुहुन्छ उहाँसंगै जानकारी लिनुस प्रहरी निरीक्षक के.सी.ले भने ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी ) भिम भट्टराईले पनि ईलाका प्रहरी कार्यालय विपीनगरका ईन्चार्ज प्रहरी निरीक्षक के.सी.ले कै जस्तै प्रहरीलाई कुनै जानकारी नएको र पिडितले जाहेरी नदिइको बताए । उनले तपाईलाई जानकारी भएको भए उजुरी दिन लगाउन आग्रह गरे ।