May 4, 2026, Monday
२०८३ बैशाख २१

महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति जुटाउन कांग्रेस नेताहरूको बैठक बूढानीलकण्ठमा जारी

काठमाडौँ । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बूढानीलकण्ठमा जारी रहेको छ । महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति जुटाउन वर्तमान पदाधिकारीसँगै पूर्व पदाधिकारीहरू बैठक बूढानीलकण्ठमा बसी रहेको हो ।

भोलि पार्टीको केन्द्रीय समिति बैठक बस्नु अघि प्रतिवेदनमा सहमति जुटाउन सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल भइरहेको नेताहरुले बताएका छन् । उक्त प्रतिवेदन सहमतिकै आधारमा संशोधनसहित पास गर्नुपर्नेमा संस्थापन पक्षले जोड दिँदै आएको छ ।

यसअघि सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई आफ्नै निवास बुढानीलकण्ठमा छलफलकालागी बोलाएका थिए ।

केन्द्रीय समिति बैठकमा प्रस्तुत महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति जुटाउने प्रयास भैरहेको छ, सभापती देउवा निकट एक नेताले भने, ‘दुई महामन्त्रीले केन्द्रीय समितिमा पेस गरेको प्रतिवेदनलाई सर्वस्वीकार्य बनाई पारित गर्ने गरी छलफल गर्न सभापतीले बैठक बोलाएको हो ।’

२३ साउन देखि जारी केन्द्रीय समितिको बैठकमा उपसभापति खड्का र दुई महामन्त्री थापा र शर्माले पेस गरेको प्रतिवेदनसहित थप ११ एजेण्डाहरु माथि छलफल भइरहेको छ ।

जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले आगामी आवधिक निर्वाचनमा कांग्रेस एक्लै लड्ने प्रतिवेदन पेश गरेका छन् । ‘पार्टी संगठन र समर्थक-शुभेच्छुकको ताकत र आम जनताको विश्वासमा आगामी आवधिक सबै तहको निर्वाचनमा पार्टी एक्लै लडेर पार्टीलाई पुनः एकल बहुमत सहितको लोकप्रिय पार्टीको रूपमा स्थापित गर्नेछौं,’ थापाको प्रतिवेदनमा भनिएको छ ।

थापाको प्रस्तावमा गठबन्धनको विषय उल्लेख नभएपनि देउवा पक्षीय नेताहरुले चुनावी तालमेल रणनीतिक विषय भएकाले अहिले निर्णय गर्न आवश्यक नरहेको बताउँदै आएका छन् । महामन्त्री थापाले कांग्रेसले रूखमा भोट हाल्न पाउने ग्यारेन्टी सहितको प्रस्तावमा पनि संस्थापन पक्षले आपत्ति जनाएका छन् ।

महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो राजनीतिक प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल तोक्ने प्रस्ताव गरेका छन् । राष्ट्रपति एक कार्यकाल, प्रधानमन्त्री दुई, मन्त्री तीन र सांसद चारपटक भन्दा हुन नपाउने उनको प्रस्ताव छ ।

प्रदेशमा ‘मुख्यमन्त्री दुईपटक, मन्त्री तीन र प्रदेशसभा सदस्य चार पटकभन्दा बढी हुन नपाउने महामन्त्रीको प्रस्ताव छ । ‘कांग्रेसले यो पद्धति अनुशरण आफूले गर्नेछ र संवैधानिक बन्दोबस्तका लागि प्रस्ताव गर्नेछ’ उनले प्रतिवेदनमा लेखेका छन् । शर्माले प्रतिवेदनमा उल्लेख गरेको पदावधिको देउवा पक्षका नेताहरुले विरोध गरेका छन् ।

महामन्त्री शर्माले ल्याएको एक पटक राष्ट्रपति‚ २ पटक प्रधानमन्त्री‚ ३ पटक मन्त्री र ४ पटक सांसदको प्रस्तावलाई संस्थापन पक्ष र इतर समूहका नेताहरूले पनि रुचाएका छैनन् ।

कांग्रेसले केही समय अघि ललितपुरको गोदावरीमा आयोजना गरेको महासमिति बैठकको प्रस्ताव पास गराउन अहिले केन्द्रीय समिति बैठक बोलाएको हो । तर‚ विवादका कारण महासमितिमा प्रस्तुत प्रतिवेदनहरू पारित हुन सकेका छैनन् ।