May 4, 2026, Monday
२०८३ बैशाख २१

साधारण सदस्य समेत नरहने गरी मुकुल ढकाललाई गर्‍यो रास्वपाले निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यबाट पनि हटाउने निर्णय गरेको छ। रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले मंगलबार बिहान बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यबाट पनि हटाउने निर्णय गरेको जानकारी दिएका हुन।

यसअघि रास्वपाले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गरी यो निर्णयमा चित्त नबुझे ३५ दिनभित्र पुनरावलोकन गर्न भनेको थियो।

रास्वपाले साधारण सदस्यबाट किन नहटाउने ? भन्दै दुईपटक ढकाललाई स्पष्टीकरण सोधेको थियो । ढकालले पनि सभापति रवि लामिछानेमाथि विभिन्न आरोप लगाउँदै स्पष्टीकरण पत्र बुझाएका थिए।

ढकालले दुवैपटक जवाफ दिँदा सभापति रवि लामिछाने माथि नैतिकताको प्रश्न उठाएका थिए । लामिछानेको नैतिक धरातल नरहेको र उनी ‘ठग’ भएको प्रमाणित आफूले गर्नसक्ने पत्र रास्वपालाई ढकालले पठाएका थिए ।

जिल्ला/जिल्ला घुमेर नेता, कार्यकर्ताका सुझावका आधारित रही ढकालले पार्टीमा प्रतिवेदन पेस गरेका थिए। त्यसपछि ढकालमाथि रास्वपाले स्पष्टीकरण र कारबाही प्रक्रिया सुरू गरेको हो।

५ असारमा बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो । ३५ दिन भित्र कारबाही उपर पुनरावलोकन गर्ने अवधि दिइए पनि ढकालले पुरावेदन गरेनन् ।

आफू माथिको कारबाही वैधानिक नरहेको उल्लेख गर्दै ढकालले निर्वाचन आयोगमा निवेदन दिएका छन् । रास्वपा केन्द्रीय समिति अद्यावधिक नगर्न उनले आयोगसँग आग्रह गरेका छन् । ढकालले दिएको निवेदनमा आयोगले हालसम्म कुनै निर्णय लिइसकेको छैन ।

रास्वपाले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि  डा. मुकुल ढकालले न्यायिक निकायले आफूमाथिको कारबाही बदर गर्ने दाबी गरेका छन् । 

मंगलबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले साधारण सदस्यबाटै निष्कासन गरेपछि उनले यस्तो प्रंतिक्रिया दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन गर्ने अधिकार क्लबलाई छैन । न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि , नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनपर्छ । ‘

उनले रास्वपा सभापछि रवि लामिछानेलाई नैतिक रूपले पतित पात्र भएको भन्दै सहकारी प्रकरणका सवालमा आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडेको आरोप लगाएका छन् । 

उनले लेखेका छन्– ‘रवि लामिछानेले आफूँविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन् । यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्‍याउने दुस्साहस गर्दै छन् । सम्बन्धित निकायको ध्यान जाओस् । र फेरी पनि नैतिक रूपले पतित रविलाई नैतिकता कै प्रश्न , अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस् , एउटा पूर्व गृहमन्त्रीलाई त्यो शोभा दिँदैन ।’