May 4, 2026, Monday
२०८३ बैशाख २१

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीसँग छलफल गर्दै

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाएका छन् । सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई आज बिहान आफ्नै निवास बुढानीलकण्ठमा छलफलकालागी बोलाएका हुन् ।

सभापति देउवाको सचिवालयले दिएको जानकारी अनुसार बिहान ११ बजे हुने छलफलमा केन्द्रीय समिति बैठकमा प्रस्तुत महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति जुटाउने प्रयास हुनेछ ।

‘विश्वजीको एक्जी पोलीसी र निर्वाचन अघिको गठबन्धनको विषयमा छलफल हुनेछ । सभापतिज्यूले यसलाई परिमार्जन गराउन छलफल बोलाउनुभएको हो‚’ देउवा निकट नेताले भने । महामन्त्रीद्वयसँग छलफल सकेपश्चात् देउवाले पदाधिकारी बैठक बोलाउने तयारी गरेका छन् । ‘पहिला महामन्त्रीसँग छलफल सकेर पदाधिकारी बस्ने भन्नुभएको थियो । सायद त्यस्तै हुन्छ होला‚’ देउवा निकट एक नेताले भने ।

दुई महामन्त्रीले केन्द्रीय समितिमा पेस गरेको प्रतिवेदनलाई सर्वस्वीकार्य बनाई पारित गर्ने गरी छलफल गर्न देउवाले बैठक बोलाएको उनले जानकारी दिए । २३ साउन देखि जारी केन्द्रीय समितिको बैठकमा उपसभापति खड्का र दुई महामन्त्री थापा र शर्माले पेस गरेको प्रतिवेदनसहित थप ११ एजेण्डाहरु माथि छलफल भइरहेको छ ।

जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले आगामी आवधिक निर्वाचनमा कांग्रेस एक्लै लड्ने प्रतिवेदन पेश गरेका छन् । ‘पार्टी संगठन र समर्थक-शुभेच्छुकको ताकत र आम जनताको विश्वासमा आगामी आवधिक सबै तहको निर्वाचनमा पार्टी एक्लै लडेर पार्टीलाई पुनः एकल बहुमत सहितको लोकप्रिय पार्टीको रूपमा स्थापित गर्नेछौं,’ थापाको प्रतिवेदनमा भनिएको छ ।

थापाको प्रस्तावमा गठबन्धनको विषय उल्लेख नभएपनि देउवा पक्षीय नेताहरुले चुनावी तालमेल रणनीतिक विषय भएकाले अहिले निर्णय गर्न आवश्यक नरहेको बताउँदै आएका छन् ।

महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो राजनीतिक प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल तोक्ने प्रस्ताव गरेका छन् । राष्ट्रपति एक कार्यकाल, प्रधानमन्त्री दुई, मन्त्री तीन र सांसद चारपटक भन्दा हुन नपाउने उनको प्रस्ताव छ ।

प्रदेशमा ‘मुख्यमन्त्री दुईपटक, मन्त्री तीन र प्रदेशसभा सदस्य चार पटकभन्दा बढी हुन नपाउने महामन्त्रीको प्रस्ताव छ । ‘कांग्रेसले यो पद्धति अनुशरण आफूले गर्नेछ र संवैधानिक बन्दोबस्तका लागि प्रस्ताव गर्नेछ’ उनले प्रतिवेदनमा लेखेका छन् । शर्माले प्रतिवेदनमा उल्लेख गरेको पदावधिको देउवा पक्षका नेताहरुले विरोध गरेका छन् ।

कांग्रेसले भदौ १२ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । महामन्त्री शर्माले ल्याएको एक पटक राष्ट्रपति‚ २ पटक प्रधानमन्त्री‚ ३ पटक मन्त्री र ४ पटक सांसदको प्रस्तावलाई संस्थापन पक्ष र इतर समूहका नेताहरूले पनि रुचाएका छैनन् । यस्तै अर्का महामन्त्री थापाले कांग्रेसले रूखमा भोट हाल्न पाउने ग्यारेन्टी सहितको प्रस्तावमा पनि संस्थापन पक्षले आपत्ति जनाएका छन् ।

यी दुई विषयमा विवाद हुँदा साउन साउन २३ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक साउन २८ देखि भदौ ७ गतेसम्म बैठक स्थगन भएको थियो । भदौ ७ मा बसेको बैठकमा पनि सहमति नजुटेपछि १२ गते सम्मका लागि बैठक स्थगन गरिएको थियो । बैठक बस्नु अगावै सहमतिको प्रयासमा सभापति देउवा जुटेका हुन् ।

कांग्रेसले केही समय अघि ललितपुरको गोदावरीमा आयोजना गरेको महासमिति बैठकको प्रस्ताव पास गराउन अहिले केन्द्रीय समिति बैठक बोलाएको हो । तर‚ विवादका कारण महासमितिमा प्रस्तुत प्रतिवेदनहरू पारित हुन सकेका छैनन् ।

महासमितिमा उपसभापति खड्काले नीति प्रस्ताव‚ महामन्त्री थापाले सांगठनिक प्रस्ताव, महामन्त्री शर्माले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यी प्रतिवेदनहरू पास भएका छैनन् । महासमितिमा पनि एक्जीट पोलीसी र चुनाव अघिको गठबन्धनमा विवाद हुँदा केन्द्रीय समितिले प्रतिवेदन पारित गर्नेगरी बैठक समापन भएको थियो । सोही विषय केन्द्रीय समितिमा पनि विवादमा परेको हो ।

२३ साउनदेखि बसिरहेको केन्द्रीय समिति बैठक १२ भदौमा सकिँदैछ । बैठकमा सभापति, उपसभापति र महामन्त्री गरी पाँच जना बोल्न बाँकी छन् ।