रामेछाप लेखर्कमा पहिरोपरी ६ जना मृत्यु : ४ जना अझै बेपत्ता, खोजिकार्य जारी

काठमाडौं । रामेछापको लेकखर्कमा पहिरोमा पुरिएर छ जनाको मृत्यु भएको छ । शनिबार राति अविरल वर्षापश्चात् राती आएको लेदोसहितको पहिरोले पाँच घर बगाएको थियो ।
प्रमुख जिल्ला अधिकारी अनिता निरौलाका अनुसार रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ३ लेखर्कको पहिरोमा परी हराइरहेका मध्ये ६ जनाको शव फेला परेको हो । ४ जना अझै बेपत्ता छन्। एक जना बालकको उद्धार गरिएको उनले जानकारी दिइन्।
मृत्यु भएकामध्ये दुई जनाको मात्रै सनाखत भएको छ। पहिरोमा परी मृत्यु हुनेमा ३० वर्षकी चण्डिका श्रेष्ठ र उनका १८ महिनाका शिशु आनुष श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ।
शनिबार राति अविरल वर्षापश्चात् ११:४५ बजेतिर आएको पहिरोले पाँच घर पूर्णरूपमा बगाएको प्रजिअ निरौलाले बताइन्। थप पाँच घर क्षतिग्रस्त अवस्थामा छन्। ३० घरधुरी रहेको उक्त बस्ती नै जोखिममा परेको निरौलाको भनाइ छ।
लेदोसहितको पहिराले ढोइगाउँ खोलाको पुलसमेत बगाएको छ। गत वर्षमात्रै निर्माण सम्पन्न भएको उक्त पुल करिब ३ करोड लागतमा तयार भएको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ३ का सदस्य लालबहादुर थापा मगरले जानकारी दिए।
‘घटनास्थल गाउँपालिकाको केन्द्रबाट दुई घन्टाको दूरीमा भएकाले हामी पुग्दैछौं। उद्धारलाई नै पहिलो प्राथमिकतामा राखेका छौं। घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिसकिएको छ,’ प्रजिअ निरौलाले बताइन्।





प्रतिकृया दिनुहोस्