कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ। गत साउन २३ गतेदेखि सुरु भएर २८ गतेदेखि रोकिएको कांग्रेस केन्द्रीय समितिको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको हो ।
अधिकांश केन्द्रीय सदस्यले आफ्ना धारणा राखिसकेकाले आज पूर्व र वर्तमान पदाधिकारीहरुले धारणा राख्ने नेपाली कांग्रेसले जनाएको छ ।आजदेखि एजेन्डालगायत विषयहरूमा धारणा राख्नेछन्। महासमितिले पारित गरेका एजेन्डालगायत ११ विषयमाथि केन्द्रीय समितिमा साउन २३ गतेदेखि छलफल भइरहेको थियो।
महामन्त्री गगन थापाले छलफलका लागि प्रस्तुत गरेका ११ एजेण्डाका अतिरिक्त परिमार्जनसहित पेश भएका महासमिति बैठकका प्रतिवेदन माथि पनि बैठकमा छलफल हुँदै आएको छ ।
उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रतिवेदन, महामन्त्री गगन थापाले राखेको सांगठनिक र अर्का महामन्त्री विश्व प्रकाश शर्माले राखेको समसामयिक प्रतिवेदन माथि छलफल केन्द्रित हुने एक नेताले जानकारी दिए ।
बैठकमा महामन्त्रीद्वय गगनको चुनावी गठबन्धन गर्न नहुने र शर्माको प्रधानमन्त्री, मन्त्री तथा सांसद कति पटक हुने भन्ने सीमा तय गर्नुपर्ने बारेको प्रस्तावलाई पार्टी सभापति शेरबहादुर देउवा समूहले ‘काउन्टर’ गर्न थालेपछि पार्टीको केन्द्रीय कार्यसमितिको बैठक ११ दिन रोकिएको थियो ।
कांग्रेसमा अहिले १३ पदाधिकारीसहित १६८ सदस्यीय केन्द्रीय समिति छ। केन्द्रीय समितिमा पदाधिकारीहरूले धारणा राख्न बाँकी नै छ।





प्रतिकृया दिनुहोस्