परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुने

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ। विदेशमन्त्री जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री राणा भारतको औपचारिक भ्रमणमा रहेकी छन्।
नेपाली राजदूतावास नयाँ दिल्लीका अनुसार सोमबार परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्रीबीच शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो। देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साथै परराष्ट्र मन्त्री राणाले भारतीय विदेश मन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। सोमबार दिउँसो उक्त भेटवार्ता हुनेछ। परराष्ट्र मन्त्री नियुक्त भएपछिको उनको यो पहिलो विदेश भ्रमण हो।
मन्त्री राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत छन्। परराष्ट्र मन्त्री राणा आइतबार भारत प्रस्थान गरेकी थिइन्। उनी यही भदौ ६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।





प्रतिकृया दिनुहोस्