सरकारका काम परिणाममुखी बनाउन मन्त्रीलाई बोलाएर गर्यो कांग्रेसले छलफल

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा सहभागी मन्त्रीहरु लाई बोलाएर छलफल गरेको छ । कांग्रेसले पार्टीबाट संघीय सरकारमा सहभागी मन्त्री र राज्यमन्त्रीहरूसँग अहिलेसम्म गरेका कामकाज, कार्यमूलक योजना र पार्टीसँगको समन्वय लगायतका विषयमा छलफल गरेको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसबाट १० जना मन्त्री र दुई जना राज्यमन्त्री सहभागी रहेका छन्। यी सबै मन्त्री र राज्यमन्त्रीहरूले सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार अपराह्न ५ बजेदेखि सवा १० बजेसम्म आफूले मन्त्रालय सम्हालेपछि गरेका कामबारे एक-एक गरी पार्टीका शीर्ष पदाधिकारीहरूलाई ब्रिफिङ गरेका हुन्।
मन्त्रीहरूले कामकाज र झेल्नु परेका समस्यामा केन्द्रित रहेर ब्रिफिङ गरेको एक मन्त्रीले जानकारी दिए। उनका अनुसार मन्त्रीहरू र राज्यमन्त्रीहरूले सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरूङ तथा महामन्त्री गगन थापालाई सरकारमा गएको एक महिनाको अवधिमा गरेका काम र झेल्नु परेका समस्याबारे सुनाएका थिए।
कांग्रेसबाट उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु देउवा, तेजुलाल चौधरी युवा तथा खेलकुद, बद्रीप्रसाद पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अजयकुमार चौरसिया कानुन, न्याय तथा संसदीय मामिला, प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या, रामनाथ अधिकारी कृषि तथा पशुपंक्षी विकास, दीपक खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइ, ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री छन्।
साथै रूपा विक वन तथा वातावरण र पूर्णबहादुर तामाङ ऊर्जा राज्यमन्त्री छन्। यसबीचमा सभापति देउवासहित पदाधिकारीहरूले मन्त्रीहरूका कामकाज र पार्टीसँग समन्वयका विषयमा ध्यानाकर्षण गराएका छन्।
‘कांग्रेसका मन्त्रीहरू पार्टीसँग समन्वयबिनै चल्ने गरेको गुनासा आएपछि महामन्त्री थापाको अग्रसरतामा सभापतिसहित पाँच जना पदाधिकारी र मन्त्री तथा राज्यमन्त्रीहरूबीच कुराकानी गरेका हौं,’ एक पदाधिकारीले भने, ‘मन्त्रीहरूसँग अबदेखि महिनामा कम्तीमा दुई पटक यस्तो छलफल गर्छौं।’
सभापति देउवाले पनि मन्त्रीहरूलाई पार्टीले समन्वय गरिदिनुपर्ने विषयहरू छन् भने मन्त्रीहरूले यस्तो बैठकमा राख्न सक्ने बताएका छन्।
‘पार्टीसँग पनि समन्वय गरेर अघि बढ्नुपर्छ, परिणाम दिने गरी तपाईंहरूले काम गर्नुपर्छ,’ सभापति देउवाका भनाइ उद्धृत गर्दै ती पदाधिकारीले भने, ‘तपाईंहरूले सम्हालेका मन्त्रालयलाई पार्टीले केही सहयोग गर्न परे गरिहाल्छ।’
आफ्ना मन्त्री तथा राज्यमन्त्रीहरूसँग कुराकानी गर्नुअघि शनिबार दिउँसो सभापति देउवाले प्रधानमन्त्री ओलीसँग कुराकानी पनि गरेका थिए।
कांग्रेस र एमालेबीच गत असार १७ गते राष्ट्रिय सहमतिको सरकार गठनसहित ७ बुँदे सहमति भएको थियो। उक्त सहमतिअनुसार असार ३० गते ओली प्रधानमन्त्री नियुक्त भएका थिए भने त्यसको भोलिपल्ट कांग्रेसका १० जनासहित २२ जना मन्त्रीहरूले शपथ लिएका थिए।
संघीय सरकारमा कांग्रेसका १०, एमालेका प्रधानमन्त्रीसहित ९, जनता समाजवादी पार्टीका २, लोसपाका १ र कांग्रेसका २, नागरिक उन्मुक्ति पार्टीका एक राज्यमन्त्री छन्। तीन राज्यमन्त्री भने गत साउन १८ गते नियुक्त भएका थिए।
कांग्रेस र एमालेबीच असार १७ मा भएको सहमतिमा पहिलो दुई वर्ष ओली र चुनाव गराउने गरी पछिल्लो डेढ वर्ष देउवा प्रधानमन्त्री बन्ने सहमति छ।





प्रतिकृया दिनुहोस्