परराष्ट्रमन्त्री राणा भारतको औपचारिक भ्रमणका लागि नयाँदिल्ली प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा आइतबार भारत प्रस्थान गरेकी छन् । उनी भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली भ्रमणमा निस्केकी हुन् । परराष्ट्रमन्त्री नियुक्त भएपछिको राणाको यो पहिलो विदेश भ्रमण हो ।
भारत भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री जयशंकरसँग द्विपक्षीय वार्ता गर्ने छिन् । दुई देशबिचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नयाँदिल्लीमा राणले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रमको गृहकार्य भए पनि ठोस नतिजा भने आइसकेको छैन । दिल्लीस्थित नेपाली दूतावासले भेटवार्ताको लागि भारतीय विदेश मन्त्रालयसँग मिलेर प्रधानमन्त्री कार्यालयसँग कुराकानी गरिरहेको परराष्ट्र स्रोतले बतायो ।
मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साललगायतका परराष्ट्रका वरिष्ठ अधिकारीहरूले बिदाइ गरे । मन्त्री राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत सहभागी छन् ।
भारतीय विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर परराष्ट्र मन्त्री राणा नयाँ दिल्ली आउन लागेको जानकारी दिएको छ । परराष्ट्र मन्त्रीको भ्रमण नेपाल र भारतबिच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको जनाइएको छ। राणा यही भदौ ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।





प्रतिकृया दिनुहोस्