कांग्रेस र एमालेले अपारदर्शी ढंगबाट माओवादीलाई सत्ताबाट बहिर्गमन गराए : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले कांग्रेस र एमालेले अपारदर्शी तरिकाले सत्ताबाट बहिर्गमन गराएको बताएका छन्। शनिबार पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौँ वार्षिक साधारणसभामा बोल्दै उनले संख्या भएकाहरुले षडयन्त्रमुलक तरिकाले मध्यरातमा हटाउने जमर्को गरेको गुनासो गरेका हुन्।
उनले भने, ‘हामीले मुख्य त सुशासनको प्रयास गरे बापत संख्या भएका भनिएकाहरुले बडो अपारदर्शी तरिकाले, बडो षडयन्त्रमुलक तरिकाले सरकार मध्यरातमा हटाउने, आफ्नै पङ्तिलाई पनि जानकारी नदिइ गर्ने जमर्को गरियो।’
केपी शर्मा ओलीले संसदको रोष्टमबाट बोलेको र देउवाले तलबाट टाउको हल्लाएको स्मरण गर्दै त्यहि दिनबाट आफूविरुद्ध ठूलै षडयन्त्रको गन्ध पाएको बताए ।
‘तपाइँहरुलाई सम्झना होला, जतिबेला समिकरण परिवर्तन भएर एमालेसँग मिलेपछि मैले मत लिने क्रममा एमाले नेता (केपी शर्मा ओली)ले बोल्दै गर्दा हाम्रो बोलचाल बन्द भयो, बोलचाल फर्काउनुपर्यो भनेर मञ्चबाट वर्तमान प्रधानमन्त्रीले भनेको र तलबाट नेपाली कांग्रेस सभापति (शेरबहादुर देउवा)ले अब खुलाउने हो, बोलचाल खोल्ने हो भनेको, त्यो बडो प्रतिकात्मक थियो, मानिसहरुले त्यसलाई कम ध्यान दिए। त्यो अर्थपूर्ण थियो।’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘तर त्यसलाई मैले बुझिहालेँ, त्यो बुझेर मैले उहाँहरुलाई तपाईहरु मिल्नुस् । हामी प्रतिपक्षमा जान्छौं भनेकै हो। त्यहि दिनबाट देखिएकै थियो केहि न केहि षडयन्त्र हुन्छ हामीविरुद्ध भन्ने।’
उनले सरकारबाट बाहिरिदा विजेताका रुपमा रहेकाले जनताले बुझिरहेको बेला जनतामा जान चुनौती र अवसर रहेको बताए। उनले पार्टीभित्रका नेताहरुले नबुझेजस्तो गरेपनि जनताले बुझिरहे पनि आफ्नै संगठन भित्रका नेताले नबुझेको कार्यकर्तासामू गुनासो गरे। प्रचण्डले संगठनात्मक अराजकता, कुण्ठा र विचलनको समस्या देखा परेकाले पार्टीभित्र एकताबद्ध बनाएर अगाडि पार्टी पुननिर्माणको गति अगाडि बढाउन खोजिएको बताए।
अध्यक्ष प्रचण्डले उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टी फुटाउँछन् भन्ने आशङ्का नगर्न पार्टी पङ्क्तिलाई आह्वान समेत गरेका छन् ।उनले स्थायी समितिको बैठकपछि यो आशङ्का हटेको बताउँदै पार्टी विभाजन नहुने बरु एकताबद्ध भएर अघि बढ्ने स्पष्ट पारे ।
केही मानिसहरूले ‘जनार्दनले पार्टी फुटाउँदै छन्’ भनेर सुनाउँदा आफूलाई पनि के भएको भन्ने लागे पनि स्थायी समिति बैठकको अन्त्यसम्ममा सबै आशङ्का हटेर गएको प्रचण्डले बताए । उनले शर्मासँग भएको पछिल्लो छलफलमा पनि पार्टीलाई एकताबद्ध बनाएर लैजाने विषयमा नै कुराकानी भएको जानकारी दिएका छन् ।
‘स्थायी समिति बैठकमा केही कमरेडले भिन्न ढङ्गले कुरा राख्नुभएको थियो । कमरेड जनार्दन शर्माले लिखित रूपमा प्रस्तुत गरेको दस्ताबेजमा फरक मत भनेर राख्नुभएको थिएन । त्यहाँ फरक मत भनेर लेखिएको पनि छैन । उहाँले पनि यसलाई आफ्नो मतको रूपमा व्याख्या गर्दै अरूले मुखले भनेको तर आफूले लेखेर ल्याएको भन्नुभयो । त्यो बाहिर जाँदा तरङ्ग र आशङ्का पैदा भए । तर, अन्त्यसम्म आइपुग्दा त्यो मुख्य रूपमा सम्बोधन गरिएको छ,’ उनले भने ।
उनले थपे, ‘प्रभाकरले पार्टी फुटाउन खोजेका छन् भनेर लिडरसिपले कहिले पनि भनेको थिएन । तर विभिन्न मानिसहरूले आएर सुनाउँथे– पार्टी फुट्दै छ, फुटाउँदै छन्, विभिन्न तत्त्व मिलेका छन् । यसले यदाकदा के भयो भन्ने भएको थियो । तर, बैठक अन्त्यसम्म जनार्दन शर्माको पार्टी फुटाउने कुनै उद्देश्य पनि छैन, नियत पनि छैन भनेर उहाँले प्रष्ट पार्नुभयो । जनार्दनले पार्टी फुटाउन खोज्यो भन्ने कसैलाई आशङ्का छ भने त्यसबाट मुक्त हुन अपिल गर्न चाहन्छु । तपाईंले लिए पनि, मैले लिए पनि त्यो निराधार हो भन्ने चाहन्छु ।’
उनले आज बिहान मात्र पनि उपमहासचिव शर्मा आफ्नो निवास खुमलटार आएको र अब एकताबद्ध भएर जाने कुरा गरेको जिकिर गरे । शर्माले उठाएका व्यवहारिक विषयहरू गम्भीर रहेको र त्यसलाई अध्ययन अनुसन्धान गरेर स्पष्ट पारिने पनि उनले जिकिर गरे ।
अध्यक्ष प्रचण्डले पार्टीको पदाधिकारी र स्थायी कमिटीको बैठकपछि अब केन्द्रीय समितिको बैठकको तयारी भइरहेको जानकारी दिए । उनले बैठकमा पार्टी एकतालाई सुदृढ गर्ने र पार्टीभित्र शङ्का–उपशङ्का, विवाद मतभेदहरूलाई कसरी समाधान गरेर पार्टीलाई एकताबद्ध गरेर जनतामा लिएर जाने विषयमा छलफल भएको पनि बताए ।
‘हाम्रो सापेक्षतामा त्यसलाई समाधान गर्ने दिशामा अघि बढेका छौँ । यस्तो बेलामा मैले पोस्टबहादुर बोगटीलाई अझ बढी सम्झेका छौँ,’ उनले भने, ‘उहाँ भइदिएको भए के हुन्थ्यो होला रु पार्टी लाइनलाई विकसित गर्ने सन्दर्भमा र पार्टीको एकतालाई सुदृढ गर्ने सम्बन्धमा हामीलाई उहाँ अपरिहार्य थियो ।’
उनले पार्टीमा विभिन्न समस्या देखिएको स्वीकार गर्दै पार्टीमा नयाँ सङ्कल्पका साथ जानुपर्ने जिकिर गरे । लिडरसिपको अगाडि हुँदासम्म सबै राम्रो छ भन्ने तर पछाडि हुँदा चाहिँ गाली गर्ने प्रवृत्ति भएकाले यस पटक सबैलाई आफ्ना कुरा खुलस्त राख्न भनिएको पनि जानकारी दिए । ‘साथीहरूले दुई दुई घण्टासम्म पनि बोल्नुभयो । मलगायत अरू लिडरले धैर्यतापूर्वक उहाँहरूका कुरा सुन्नुभयो,’ उनले भने ।





प्रतिकृया दिनुहोस्