स्थानीय तहको उपनिर्वाचनबारे प्रधानमन्त्रीसँग गर्यो निर्वाचन आयोगले छलफल

काठमाडौं । स्थानीय तहमा रिक्त पदका लागी उपनिर्वाचनको तयारीबारे निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको छ । प्रधानमन्त्री ओलीसँग निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबिच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले बताएको हो।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको छ ।
प्रधानमन्त्री ओलीले जाडो समय अगावै हुने गरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययिता अपनाउन आग्रह गरेका थिए । मिति घोषणा अघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आह्वान गर्ने आयोगले जानकारी गराएको छ ।
छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्यसचिव लीलादेवी गड्तौलालगायत सहभागी थिए ।





प्रतिकृया दिनुहोस्