May 4, 2026, Monday
२०८३ बैशाख २१

आज नागपञ्चमी, घरको मूलढोकामा नागको तस्वीर टाँसी पूजा गरिँदै

काठमाण्डौं । घरको मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चनागरी आज नागपञ्चमी मनाइँदैछ। हिन्दु धर्मावलम्बीहरूले प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँने गरिएको हो।

यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ।

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको मानिन्छ। वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने धार्मिक मान्यता रहेकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा छ।

वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।

 उदयकालको पञ्चमी तिथी भएकाले आज दिनभर नै घरघरमा नाग टाँस्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक ज्योतिष पण्डित सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।

हिन्दु धर्ममा नागलाई विष्णु र शिवका रुपमा मानिन्छ। नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन् । नागका बाह्र नाम भए पनि आठ कूलका आठ नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कोकट र शङ्ख गरी अष्टनागलाई आजको दिन (ब्राह्मण) पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।

आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायत घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने धार्मिक मान्यता छ ।