May 4, 2026, Monday
२०८३ बैशाख २१

बागलुङमा पहिरोमा पुरिएर ८ जनाको मृत्यु, २ जना बेपत्ता

पोखरा । बागलुङको बडिगाड गाउँपालिकामा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले पहिरोमा पुरिएर बडिगाड गाउँपालिका–९ र १० मा हालसम्म ८ जनाको मृत्यु भएको जानकारी दिएका हुन।

बडीगाड गाउँपालिका १० मा मंगलबार बिहान घरगोठ बगाउँदा मृत्यु हुनेमा ७ वर्षीया मालती बुढा, ७ वर्षीया मधु बुढा, सञ्जु विककी ६ महिने नाबालिका छोरी, १३ वर्षीय मनोज बुढा, अन्दाजी १२/१३ वर्षका अमन बुढा र ५९ वर्षीय मैतीदेवी विकको मृत्यु भएको हो ।

यसैगरी वडा नम्बर ९ मा १५ वर्षीय विधान परियार र गंगा विकको मृत्यु भएको सहायक प्रजिअ सुवेदीले बताए।

पहिरोमा परी संगीता बुढा, सुमित्रा विक, सीता थापा र मंगलसिंह बुढा घाइते भएका छन् । थप दुइजना बेपत्ता रहेको उनको भनाइ छ।