आज देशभर वर्षा : केही प्रदेशमा मुसलधारे पानी पर्ने, नदी तथा खोलामा बाढीको सम्भावना

काठमाडौँ । पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार विशेषगरी कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको हो ।
मधेश, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको विभागले जनाएको छ ।
हाल देशभर साधारणतया बदली रहेको बागमती र मधेस प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही भेगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा वाग्मती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न विभागले अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही नदी तथा खोलामा आज बाढीको सम्भावना छ । सुनकोसी नदी र वाग्मती नदीको जलसतह बढ्दो क्रममा रहेको विभागले जनाएको छ ।
जलसतह सतर्कता तह आसपास रहने पूर्वानुमान रहेकाले उक्त नदीहरूको तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।
काठमाडौं, ललितपुर, भक्तपुर, रुपन्देही, अर्घाखाँची, स्याङ्जा, गुल्मी, कपिलवस्तु, दैलेख भएर बग्ने नदी तथा खोलामा बाढीको सम्भावना छ । प्युठान, रोल्पा, सल्यान, सुर्खेत, कैलाली, कन्चनपुर र आसपासका जिल्ला भएर बहने अधिकांश स–साना नदी तथा खोलामा बहाव बढ्ने पूर्वानुमान रहेकाले उच्च सतर्कता अपनाउन विभागको अनुरोध छ ।
आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूमा जलसतह बढ्ने पूर्वानुमान छ । कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह बढ्दो क्रममा रहने तर सतर्कता तह तलै रहने विभागको भनाइ छ ।





प्रतिकृया दिनुहोस्