तीन प्रदेश प्रमुख बर्खास्त : क-कसले पाए नयाँ प्रदेश प्रमुख नियुक्ति ?

काठमाडौँ । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णाली प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्न सिफारिस गरेको छ।
संविधानको धारा १६५ को उपधारा १ बमोजिम बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताएका हुन।
सरकारको निर्णयसँगै बागमतीको प्रदेश प्रमुख रहेका शर्मा अब आफ्नो जिम्मेवारीबाट हट्ने भएका छन् । उनी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निकट हुन् । यस्तै लुम्बिनी प्रदेशमा शेरचन र कर्णालीमा परियार प्रदेश प्रमुख नेकपा माओवादी केन्द्र निकटका हुन । उनीहरू पनि अब हट्ने भएका छन् ।
मन्त्रिपरिषदको सोमबार बैठकले तीनै प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ। बागमती प्रदेश प्रमुखमा कैलालीका दीपकप्रसाद देवकोटा र कर्णाली प्रदेशमा कञ्चनपुरका यज्ञराज जोशी सिफारिस भएका छन्। त्यस्तै लुम्बिनी प्रदेश प्रमुखमा श्रीकृष्ण बहादुर घर्ती मगर सिफारिस भएका छन्।





प्रतिकृया दिनुहोस्