May 4, 2026, Monday
२०८३ बैशाख २१

सरकारले गर्‍यो १८ देशमा राजदूत सिफारिस, भारतमा शर्मालाई निरन्तरता

काठमाडौं । सरकारले १८ देशमा राजदूत नियुक्ति सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ५ देशको राजदूतलाई फिर्ता बोलाउने र १८ देशका लागि नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका एक मन्त्रीका अनुसार कांग्रेस–एमाले गठबन्धन सरकारद्वारा भागबन्डागरी राजदूतमा सिफारिस भएका हुन् । मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार चीन, रुस, अष्ट्रेलिया, श्रीलंका र दक्षिण अफ्रिकाका राजदूत फिर्ता बोलाएको हो । ‘माओवादी र एकीकृत समाजवादीको कोटामा नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाइएको हो’ अर्का एक मन्त्रीले भने ।

चीनमा लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, रुसका लागि मिलन तुलाधर र अष्ट्रेलियाका लागि राजदूत कैलाशराज पोखरेललाई फिर्ता बोलाइएको छ । श्रीलंकाका लागि राजदूत बासुदेव मिश्र र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत दानबहादुर तामाङलाई फिर्ता बोलाउने निर्णय भएको छ ।

स्रोतका अनुसार भारत, चीन, अमेरिका, बेलायत, रुस, दक्षिण कोरिया, कतार, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, अष्ट्रेलिया, साउदी अरब, दक्षिण अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनीका लागि नयाँ राजदूत सिफारिस गरिएको हो ।

भारतका लागि नेपाली राजदूतमा शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय भएको छ । प्रचण्ड सरकारले २४ जेठमा शर्मासहित ११ देशका राजदूत फिर्ता बोलाएको थियो ।

१७ असारमा नयाँ गठबन्धन बनेपछि कांग्रेसले भारतका लागि राजदूतमा शर्मालाई निरन्तरता दिन चाहेको थियो । तर प्रधानमन्त्री ओलीले एमाले सम्मिलित सरकारले फिर्ता बोलाउने निर्णय गरेको भन्दै अर्को नाम मागेको थियो ।

स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्व मुख्य सचिव एवं सुरक्षा परिषद्‍मा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीको नाम अघि सारेका थिए । तर अन्तिम समयमा शर्माकै नाम टुंगिएको छ ।

अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी सिफारिस भएका छन् । बेलायतका लागि नेपाली राजदूत भइसकेका उनले प्रचण्ड सरकारले एमालेको कोटामा भारतका लागि राजदूत सिफारिस गरेको थियो । तर नयाँ गठबन्धनमा भएको भागबण्डामा भारत कांग्रेसले लिएपछि रेग्मी अमेरिका पुगेका हुन् ।

यस्तै पूर्व सचिव चन्द्र घिमिरेलाई बेलायतका लागि राजदूत सिफारिस गरिएको छ । प्रचण्ड सरकारले उनलाई एमालेको कोटामा अमेरिकाका लागि राजदूत सिफारिस गरेको थियो । तर राजदूत सिफारिसको निर्णय कार्यान्वयन नहुँदै सरकार फेरिएपछि उनी राजदूत भएर जाने देश पनि फेरिएको छ ।

चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली, दक्षिण कोरियाका लागि पूर्वमन्त्री शिवमाया तुम्बाहाङ्फे र मलेसियाका लागि नेपाली राजदूतमा डा. नेत्र तिमल्सिना सिफारिस भएका छन् ।

तिमल्सिना यसअघि पनि मलेसियाका लागि नै राजदूत सिफारिस भएका थिए । यस्तै सनिल नेपाल पनि राजदूत सिफारिस भएका छन् ।

प्रचण्ड सरकारले पोर्चुगलमा दूतावास खोल्ने निर्णय गरेर उनको नाम सिफारिस गरेको थियो । नियुक्त प्रक्रिया पूरा गरेर पोर्चुगल जाने तयारीमा रहेका बेला प्रचण्ड सरकारलाई ११ राजदूत फिर्ता बोलाउँदा उनी पनि परेका थिए ।

खाली रहेका ११ मुलुक, फिर्ता बोलाइएका ५ तथा तीन महिनापछि खाली हुनेसमेत गरी डेढ दर्जन मुलुकमा राजदूत सिफारिस गरिएको ती मन्त्रीले बताए । तीन महिनापछि राजदूत पद रिक्त हुन लागेको बेल्जियम, पाकिस्तान र जर्मनीमा पनि राजदूत नियुक्तिका लागि सिफारिस गरिएको हो । ती मन्त्रीका अनुसार कांग्रेसबाट जापानसहित ९ र एमालेबाट ८ तथा परराष्ट्र मन्त्रालयको करिअर राजदूततर्फबाट दुई जनालाई सिफारिस गरिएको हो ।

ती मन्त्रीका अनुसार बेलायतमा पूर्वसचिव चन्द्रप्रसाद घिमिरे, साउदी अरबमा नरेशविक्रम ढकाल (कतारका लागि पूर्वराजदूत), इजरायलमा पद्मकन्या क्याम्पसका पूर्वप्रमुख धनप्रसाद पण्डित, दक्षिण अफ्रिकामा प्राध्यापक कपिल श्रेष्ठ, दक्षिण कोरियामा पूर्वउपसभामुख शिवमाया तुम्बाहाम्फे, जर्मनीमा डा. शैल रूपाखेती, अस्ट्रेलियामा कान्ता रिजाल (इजरायलका लागि पूर्वराजदूत), मलेसियामा नेत्र तिमिल्सिना, स्पेनमा सनिल नेपाल (पोर्चुगलका लागि पूर्वराजदूत) र श्रीलंकामा रामकृष्ण भट्टराई राजदूतमा सिफारिस भएका हुन् ।

यस्तै, पोर्चुगलमा परराष्ट्र सहसचिव प्रकाशमणि पौडेल र पाकिस्तानमा सहसचिव रिता धिताल, डेनमार्क सुम्निमा तुलाधर र रुसमा जंगब चौहानलाई सिफारिस गरिएको छ । कतार र बेल्जियमका लागि सिफारिस भएकाको नाम भने खुलिसकेको छैन ।

पूर्ववर्ती प्रचण्ड सरकारले जेठ २४ मा भारत र अमेरिकालगायत ११ मुलुकका राजदूतलाई कार्यकाल पूरा नहुँदै फिर्ता बोलाउने निर्णय गरेको थियो । त्यसपछि असार ७ मा विभिन्न ८ मुलुकका लागि नयाँ राजदूत सिफारिस गरेको थियो । तर, ओली सरकारले अघिल्लो सरकारबाट सिफारिस भएका राजदूतमा फेरबदल गरिदियो ।