बागमती प्रदेशमा १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त

हेटौडा । बागमती प्रदेश सरकारले पूर्णता पाएको छ । मन्त्रीमण्डलको सङ्ख्या बढाएर मुख्यमन्त्री बहादुर सिं लामाले लामो विवादपछि सरकारलाई पूर्णता दिएका हुन् ।
साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका लामाले साउन ९ मा ९ जना र साउन १२ मा ४ मन्त्रीलाई सरकारमा सहभागी गराएका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको मुख्यमन्त्री लामा नेतृत्वको सरकारमा एमालेका ६ र कांग्रेसका ८ मन्त्री कायम भएका छन् ।
मुख्यमन्त्री कार्यालयसहित १३ मन्त्रालय रहेको बागमतीमा १४ जनालाई मन्त्री नियुक्त गरिएको हो । एक विना विभागीयसहित सरकारमा कांग्रेसका ८ र एमालेका ६ मन्त्री सहभागी भएका छन् ।
कांग्रेसभित्रको भागबन्डा नमिल्दा मन्त्रिमण्डलको सङ्ख्या बढाएर मुख्यमन्त्री लामाले सरकारलाई पूर्णता दिएका हुन् । ९ गते नै सरकारलाई पूर्णता दिने तयारी गरिए पनि कांग्रेस भित्रको आन्तरिक किचलोका कारण पटक पटक मन्त्रीको शपथ ग्रहण रोकिन पुगेको थियो ।
मुख्यमन्त्री लामाको सिफारिसमा संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुख यादव चन्द्र शर्माले गरेको मन्त्रिपरिषद् पुनर्गठन एवम् कार्य विभाजनमा एमालेबाट प्रकाश श्रेष्ठ, कृष्णप्रसाद सिलवाल, अमक कुमार मास्के, सुकमाया तामाङ, प्रेमभक्त महर्जन र किरण थापालाई मन्त्री बनेका थिए ।
कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का, विमल ठकुरी, हरिप्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, मदु कुमार श्रेष्ठ मन्त्री बनेका छन् । मन्त्री बनेका मध्ये मदु कुमार श्रेष्ठको जिम्मेवारी तोकिएको छैन भने अन्य सबैलाई जिम्मेवारी दिइएको छ ।
एमालेका प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, अमन कुमार मास्केलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, कृष्ण प्रसाद सिलवाललाई वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङलाई उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, किरण थापालाई स्वास्थ्य मन्त्रालय र प्रेमभक्त महर्जनलाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
कांग्रेसबाट मन्त्री बनेका कुन्दन राज काफ्ले आर्थिक मामिला तथा योजना मन्त्रालय, हरि प्रभा खड्गीले सामाजिक विकास मन्त्रालय, सुरज चन्द्र लामिछानेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्याम खड्काले खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय, मीनकृष्ण महर्जनले युवा तथा खेलकुद मन्त्रालय, विमल ठकुरी संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् भने मदुकुमार श्रेष्ठको जिम्मेवारी पछि तोकिनेछ ।





प्रतिकृया दिनुहोस्