May 4, 2026, Monday
२०८३ बैशाख २१

जहाजमा सवार यात्रुको विवरण सार्वजनिक, दुर्घटनास्थल पुगे प्रधानमन्त्री ओली

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाजमा सवार चालक दलका सदस्यसहित १९ जनाको विवरण सार्वजनिक भएको छ । एयरलाइन्सका चिफ अफ सेल्स एण्ड मार्केटिङ मुकेश खनालले १९ जना सवारहरू चालक दलका सदस्य र कर्मचारी भएको बताएका हुन ।

दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । विमानमा क्याप्टेन मनिषरत्न शाक्य (घाइते) र को–पाइलट सुशान्त कटुवाल रहेका थिए ।

विमानमा सवार कर्मचारीहरूमा अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले,राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका छन् । आरिफ भने यमनका विदेशी नागरिक हुन् ।

९ एन–एएमई सीआरजे-७ विमान आज बिहान काठमाडौंबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो । विमानमा चालक दलका सदस्यसहित १९ जना थिए ।

विमानमा क्याप्टेन मनिष शाक्य थिए । शाक्यलाई घटनास्थलबाट उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको स्थलमा पुगेका छन् । उद्दारको काम सकिएपछि दुर्घटनास्थल निरीक्षणका लागि प्रधानमन्त्री ओली पुगेका हुन् ।

यसअघि गृहमन्त्री रमेश लेखक पनि निरीक्षणका लागि विमानस्थल पुगेका थिए । बिहान ११ः११ मा काठमाडौंबाट इन्जिन परीक्षणका लागि पोखरा उड्न लागेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र दुर्घटनामा परेको थियो ।

उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिररहेको स्थानमा दुर्घटना भएको थियो । दुर्घटना भएको जहाजले विमानस्थलमा राखिएको एक कन्टेनरलाई ठक्कर दिँदै बजारिएको तल भुईँमा बजारिएको थियो ।

yatru3