May 4, 2026, Monday
२०८३ बैशाख २१

जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु, एक जनाको उद्धार

काठमाडौं। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार जहाजमा रहेका १८ जनाको मृत्यु भएको हो।

दुर्घटनास्थलबाट एक जना घाइते भएको जनाएको छ । सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:१५ मिनेटमा दुर्घटनामा परेको थियो।

जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार जहाज मर्मतको लागि पोखरातर्फ उडान गरिएको थियो। जहाजमा सबै सौर्यकै कर्मचारीहरू रहेको प्रहरीको भनाइ छ। उक्त जहाजमा १९ जना थिए।

जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।

‘क्याप्टेन मनीष शाक्यलाई बिहान ११ बजेर ३४ मिनेटमा उद्धार गरेर केएमसी अस्पताल लगिएको छ,’ उनले भने, ‘उनी बोल्न सक्छन्। आँखामा चोट लागेको छ।’

प्रवक्ता एसएसपी मैनालीका अनुसार जहाजमा लागेको आगो बुधबार बिहान ११ बजेर ४० मिनेटमा नियन्त्रणमा लिइएको हो।

सौर्य एयरको जहाज पोखराको लागि उडान गर्ने क्रममा बुद्ध एयरको ह्याङ्गर पछाडी खाली ठाउँमा खसेको थियो। घटनास्थलबाट निकालिएका शवहरू त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको उनले जानकारी दिए।