May 4, 2026, Monday
२०८३ बैशाख २१

काठमाडौं विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना : विमानस्थल बन्द, दर्जनौं उडान अवतरण प्रभावित

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनामा परेको छ ।  सौर्य एयरलाइन्सको ९ एन-एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको परेको प्रहरीले जनाएको हो ।

जहाज प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दीपक थापाका अनुसार जहाज बिहान ११:१५ मिनेटमा दुर्घटनामा परेको हो ।

अहिले दुर्घटनामा परेको जहाजको उद्धार कार्य सुरु भइसकेको छ। विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाले दिएको जानकारीअनुसार सौर्य एयरको जहाज दुर्घटनामा परेको जानकारी आएको बताए । कलसाइन अल्फा एमई रहेको जहाज दुर्घटनामा परेको जनाइएको छ ।

जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थलबाट हुने उडान–अवतरण सबै बन्द भएको विमानस्थल स्रोतले जनायो । उद्धारको काम नसकिएसम्म विमानस्थल नखुल्ने भएकाले दर्जनौं उडान अवतरण प्रभावित भएका छन् । आन्तरिक जहाजहरुलाई सम्बन्धित विमानस्थलमै रोकिएको छ भने अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट गरिएको छ ।

दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा १९ जना रहेको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ। जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौं उपत्यका प्रहरी प्रमुख थापाले जानकारी दिए।

‘क्याप्टेन मनीष शाक्यलाई बिहान ११ बजेर ३४ मिनेटमा उद्धार गरेर केएमसी अस्पताल लगिएको छ,’ उनले भने, ‘उनी बोल्न सक्छन्। आँखामा चोट लागेको छ।’

उद्धारकर्ताले केहीको शव निकालेका छन् । ‘उनीहरू सबै सौर्य एयरलाइन्सकै कर्मचारी भएको बुझिएको छ,’ उनले भने, ‘थप विवरण आउन बाँकी छ।’

जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ। जहाज दुर्घटनालगत्तै गृहमन्त्री रमेश लेखक घटनास्थलतर्फ लागेका छन् ।