बागमतीका नवनियुक्त मुख्यमन्त्री लामाको शपथ ग्रहण आज, कुन पार्टीबाट कति हुँदैछन् मन्त्री ?

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामाको शपथ ग्रहण आज हुने भएको छ । नवनियुक्त मुख्यमन्त्री लामाले बिहान ११ बजे शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको हो ।
मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । नेपाली कांग्रेस र नेकपा (एमाले)का ६४ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले मंगलबार प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि मंगलबार ५ बजेसम्मको समय तोकेर दाबी पेस गर्न आह्वान गरेका थिए ।
मुख्यमन्त्री लामासहित १३ मन्त्रीको शपथ ग्रहण पनि आज नै हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण प्रसाद सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालय र कांग्रेसका अन्य ६ जना मन्त्रीको पनि आज शपथ ग्रहण हुने भएको हो ।
कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयका मन्त्रीले शपथ ग्रहण गर्नेछन् ।





प्रतिकृया दिनुहोस्