पूर्वमन्त्रीले ५ हजार घुस दिएको प्रकरणमा अनुसन्धान अघि बढिसक्यो : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पूर्वमन्त्री तथा सांसद डा. वीरेन्द्र महतोले ५ हजार घुस दिएको प्रकरणमा अनुसन्धान अघि बढिसकेको बताएका छन् । प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले व्यक्तिगत रूपमा पनि सांसद महतोसँग कुरा गरेको र अनुसन्धान अघि बढिसकेको बताएका हुन।
‘आफ्नो छोराको प्रमाणपत्र प्रमाणित गर्न बिचौलियालाई ५ हजार घुस दिनुपरेको घटनाबारे तत्काल छानबिन गर्न प्रहरीलाई निर्देशन दिइएको छ। प्रहरीलाई उक्त घटनाको तत्काल छानबिन गर्नको लागि आवश्यक निर्देशन दिइसकेको छ। यो विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको छ।’
जनता समाजवादीका सांसद तथा पूर्वमन्त्री डा. वीरेन्द्र महतोले सदनको रोष्ट्रमबाट आफूले पाँच हजार रुपैयाँ घुस दिएको भनेर दिएको अभिव्यक्ति दिएका थिए ।
पूर्वमन्त्री महतोले आइतबार सदनमा भनेका थिए, ‘हाम्रो देशमा भ्रष्टाचारले यति ठूलो जरो गाडेको छ। म भूतपूर्व मन्त्री, मैले हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा पाँच हजार घुस दिएर आएको छु।’
यो विषयमा कांग्रेसका राजेन्द्र केसीले गृहमन्त्री र शिक्षामन्त्रीले सांसदहरूले घुस दिएर आएको भन्ने कुरालाई नजरअन्दाज गर्न नहुने उनको बताएका थिए।
मंगलबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली सर्लाही पुगेको जानकारी दिए । हत्याराबारे जिल्ला प्रहरी सुराकविहीन बनेपछि अनुसन्धान गर्न सीआईबीको टोली खटिएको हो ।
गएको आइतबार राति सर्लाहीस्थित घरमा रायको हत्या गरिएको थियो । उनी सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ मा बस्दै आएका थिए । धारिलो हतियार प्रहार गरी ८० वर्षीय रायको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनको टाउकोको बायाँतिरको भागमा धारिलो हतियार प्रहार गरिएको पाइएको थियो । अनुसन्धानका निम्ति प्रहरीले तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको थियो । उनको हत्या गर्न प्रयोग गरिएको हतियार भने सोमबार साँझ प्रहरीले फेला पारेको छ ।
प्रतिनिधि सभा बैठकमा गृहमन्त्री लेखकले यस वर्षको मनसुन प्रारम्भपछि प्राकृतिक प्रकोपमा भएको जनधनको क्षतिबारे संसद्लाई जानकारी गराएका छन् ।
मन्त्री लेखकले गत जेठ २८ देखि हालसम्म १ हजार ५९२ विपद्का घटना भएको बताए । उनले त्यसक्रममा १३० जनाको मृत्यु र १४४ जना घाइते भएको बताए । त्यस्तै ४८ जना बेपत्ता भएको र ५९४ पशुचौपाया नोक्सानी भएको उनले बताए ।
यसवर्षको बाढी पहिरोबाट २३१ घर र ८४ गोठमा क्षति पुगेको भन्दै उनले ४३ वटा पुल र २ सरकारी भवन भत्किएको बताए । त्यस्तै ४ हजार ४ परिवार विस्थापित हुने अवस्था आएको र जसमध्ये १ हजार ५९ परिवारलाई सुरक्षित स्थानमा सारिएको उनले बताए ।
प्राकृतिक विपदबाट देशका ७७ वटै जिल्ला प्रभावित भएको र विपद्पछिको खोज तथा उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ र सशस्त्र प्रहरीका ३ हजार ९५६ जना खटिएको उनले बताए । ती सुरक्षाकर्मीले ९८९ जनालाई उद्धार गरेको तथा उद्धारमा कतिपय स्थानमा नेपाली सेना समेत खटिएको उनले बताए । उनले प्रभावितहरूलाई आवश्यक राहत सामग्रीको प्रबन्ध गरेको तथा मृत्यु भएकामध्ये ४७ परिवारलाई राहत दिइसकेको र बाँकी प्रक्रियामा रहेको बताए । उनले ४८ जना बेपत्ता भएकाहरूको पत्ता नलागेका परिवारलाई मृतक सरह नै राहत उपलब्ध गराउने निर्णय भएको समेत जानकारी दिए ।





प्रतिकृया दिनुहोस्