बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिंह लामाद्वारा दाबी पेस

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ)ले दावी पेस गरेका छन् । मंगलबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा एमाले र कांग्रेसका ६४ संसदको समर्थनमा लामाले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।
प्रदेश प्रमुख शर्माले मंगलबार साँझ ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गरेका थिए ।
मंगलबार नै साँझ पाँच बजेपछि प्रदेश प्रमुख शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेकाे प्रदेश प्रमुख कार्यालयले जानकारी दिएकाे छ ।
नुवाकाेटका लामा बागमती प्रदेशमा कांग्रेसबाट र तामाङ समुदायबाट पहिलाे पटक मुख्यमन्त्री बन्दैछन् । लामाले साेमबार नै मुख्यमन्त्रीमा दावी गर्ने कार्यक्रम तय भएकाे थियाे । तर, मन्त्रालय भागबण्डामा सहमति हुन बाँकी र एमालेभित्र मन्त्री छनाैटकाे समस्या कारण दलका नेता जगन्नाथ थपलियासहितका सांसदहरू काठमाडाैं हिँडेपछि दाबी पेश मंगलबारका लागि सारिएकाे थियाे ।
बागमतीमा मन्त्रालय भागबण्डामा कांग्रेस-एमालेबीच सहमति भइसकेकाे छ । कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले भौतिक पूर्वाधार मन्त्रालयसहित ६ वटा मन्त्रालय लिने सहमति भएकाे कांगेस नेता लामाले जानकारी दिए ।
यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय कसले लिन भन्ने विवाद थियाे । एमालेलाई कृषि मन्त्रालय दिएर मन्त्रालय बाँडफाँड टुंग्याइएकाे लामाले बताए ।
११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदकाे समर्थन आवश्यक पर्छ । कांग्रेस र एमालेसँग ६४ सांसद छन् । प्रदेश सभामा नेकपा माओवादी केन्द्रकाे २१, राप्रपाकाे १२ (सभामुख बाहेक), नेकपा (एकीकृत समाजवादी) काे ७, नेमकिपाकाे ३ र हाम्राे नेपाली पार्टीको २ सांसद छन् ।





प्रतिकृया दिनुहोस्