May 4, 2026, Monday
२०८३ बैशाख २१

लुम्बिनी प्रदेशमा एमालेका आचार्य मुख्यमन्त्रीमा नियुक्त

बुटवल । लुम्बिनी प्रदेशमा एमाले नेता चेतनारायण आचार्य  मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नेपाली कांग्रेस र एमालेका ५६ जना सांसदहरुको समर्थनसहित दाबी पेस गरेका आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार अपराह्न मुख्यमन्त्री नियुक्त गरेका हुन्।

प्रदेश प्रमुख शेरचनले  एमाले संसदीय दलका उपनेता समेत रहेका आर्चायलाई संविधान १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा  नियुक्त गरेका हुन् ।

नेकपा (माओवादी  केन्द्र) संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पदबाट राजीनामा दिएका थिए।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि सोमबार साँझ ६ बजेसम्मको समय दिएका थिए।

कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरी, प्रमुख सचेतक जन्मजय तिमिल्सिना, एमाले संसदीय दलका प्रमुख समेतक तुलसी चौधरीसहित प्रदेश प्रमुख कार्यालय पुगेका आचार्यले सोमबार अपराह्न ४ बजे मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

संसदीय दलको नेतालाई पन्छाएर मुख्यमन्त्री बनेका आचार्य को हुन्?

एमाले संसदीय दलको नेता लीला गिरीलाई पन्छाएर लुम्बिनीको मुख्यमन्त्रीमा उपनेता चेतनारायण आचार्य नियुक्त भए। एमाले केन्द्रीय सदस्य रहेका आचार्य यसअघि लुम्बिनी सरकारमा तीन वटा मन्त्रालयको नेतृत्व लिइसकेका छन्।

केन्द्रमा एमाले र नेपाली कांग्रेसका बीचमा गठबन्धन बनेसँगै लुम्बिनीमा पनि एमाले र कांग्रेसको गठबन्धन बनेको हो। सोहीअनुसार लुम्बिनीमा पनि एमाले र कांग्रेस गठबन्धनमा नयाँ सरकार गठन भएको हो।

बुवा टीकाराम आचार्य र आमा तारादेवी आचार्यका माइलो छोराको रुपमा २०२५ साल जेठ २१ गते अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ९ अधेरीमा आचार्यको जन्म भएको हो।

शान्ति मावि बाँगीमा कक्षा ७ मा अध्ययन गर्दा नै अनेरास्ववियूमा आवद्ध हुँदै एमालेको राजनीतिमा उनी लागेका थिए। सिद्धार्थ मावि हंशपुरबाट एसएलसी पास गरेका आचार्य त्यसअघि नै अनेरास्ववियू अर्घाखाँचीको सदस्य बनेका थिए।

आईएल अध्ययनको लागि २०४२ सालमा बुटवल बहुमुखी क्याम्पसमा भर्ना भएका उनी पहिलो वर्षमै बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियूको प्रारम्भिक कमिटी अध्यक्ष चुनिएका थिए।

आईएल उत्तिर्णपछि २०४५ सालमा पार्टी राजनीतिका लागि एमालेले अर्घाखाँची पठायो। जिल्ला फर्किएपछि उनी २०४६ सालमा ५ नम्बर ईलाकाको उपसचिव बने।

२०४७ सालमा जिल्ला कमिटी सदस्य बनेका आचार्य २०५१ सालदेखि २०५४ सालसम्म क्षेत्र नम्बर १ को ईन्चार्ज बने। २०५४ सालदेखि २०६५ सालसम्म जिल्ला कमिटी सचिव पार्टीलाई नेतृत्व दिएका आचार्य २०६५ सालदेखि २०६९ सालसम्म साविक लुम्बिनी अञ्चल कमिटीको सदस्य बनेका थिए।

पार्टी अध्यक्षीय प्रणालीमा गएपछि २०६९ मा अर्घाखाँको अध्यक्ष बनेका आचार्य झण्डै १० वर्ष अध्यक्ष बने। २०७८ सालमा जिल्ला कमिटी अध्यक्ष छोडेका आचार्य त्यसयता केन्द्रीय सदस्य छन्।

संसदीय राजनीतिमा २०७४ र २०७९ साल दुबै निर्वाचनमा अर्घाखांची क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्। पहिलो पटक शंकर पोखरेल नेतृत्वको पछिल्लो सरकारमा करिब ३ महिना आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका आचार्य २०७९ मा लीला गिरी नेतृत्वको सरकारमा सहरी विकास खानेपानी तथा ग्रामीण विकास मन्त्री बनेका थिए।

यस अघिको जोखबहादुर महरा नेतृत्वको सरकारमा आचार्य आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए।

मुख्यमन्त्रीको विषयले एमालेभित्र असन्तुष्टि

संसदीय दलको नेता छोडेर एकाएक लुम्बिनीको मुख्यमन्त्रीमा नाम परिवर्तन गर्न पार्टी केन्द्रको निर्देशन आएपछि एमालेभित्र व्यापक असन्तुष्टि देखिएको छ। 

सोमबार बिहान ९ बजेसम्म संसदीय दलका नेता तथा पार्टी पोलिटब्युरो सदस्य लीला गिरीलाई मुख्यमन्त्री बनाउने तयारी गरेको एमालेले एकाएक गिरीको नाम हटाएर संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन पार्टी केन्द्रबाट निर्देशन आएपछि नेता तथा कार्यकर्ताहरूमा असन्तुष्टि देखिएको हो।

एमाले कार्यकर्ता देवराज पोखरेलले पार्टी भित्र स्वच्छ र इमान्दार छवी बनाएका पाका नेता लिला गिरीलाई गुटकै कारण मुख्यमन्त्री नबनाइएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका छन्।

पोखरेलले एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलसँगै नाम जोडिएकै कारण उनलाई हटाएर संसदीय दलका उपनेतालाई मुख्यमन्त्री बनाउन पार्टी केन्द्रले निर्देशन दिएको बताएका छन्। 

‘कमरेड विष्णु पौडेल तपाईंसँग नाम जोडिएकै कारणले लुम्बिनीमा संसदीय दलका नेतालाई ‘स्याक’ गरियो। आफूसँग नाम जोडिएका कार्यकर्ताहरूको कत्लेआम हुँदा कहिलेसम्म टुलुटुलु हेरेर बस्ने हो? पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। 

एमाले बुटवल उपमहानगरका सचिवालय सदस्य यादव भण्डारी पनि गुटगत राजनीतिका कारण रूपन्देही एमालेलाई कमजोर बनाउन लागिएको प्रतिक्रिया दिए। भण्डारीले महासचिव शंकर पोखरेल पार्टीभित्र हावी प्रदेशको राजधानी र राजनीति दुवै बिगारेको बताएका छन्। 

‘लुम्बिनी प्रदेशको राजधानी त बिगार्यौ अब राजनीति पनि बाँकी नराख, पावर स्थायी हुँदैन ख्याल रहोस्,’ सामाजिक सञ्जाल फेसबुकमा भण्डारीले लेखेका छन्।

गिरी पार्टीभित्र उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् भने आचार्य महासचिव शंकर पोखरेल निकट मानिन्छन्।