सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या, अनुसन्धान हुँदै

काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । गएराति धारिलो हतियार प्रयोग गरी ७५ वर्षीय रायको सर्लाहीस्थित आफ्नै निवासमा हत्या गरेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको हो ।
मधेस प्रदेशका प्रहरी नायव महानिरीक्षक यज्ञविनोद पोखरेलका अनुसार सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, रतनपुरमा रहेको उनको आफ्नै निवासमा हत्या भएको हो ।
सोमबार बिहान १ बजे चन्द्रनगर गाउँपालिका-१ स्थित निवासमा राय मृत फेला परेको सूचना प्रहरीकहाँ पुगेको थियो । सूचना प्राप्त हुनासाथ मोहनपुर प्रहरी चौकी र इलाका प्रहरी कार्यालयबाट टोली रायको घरमा पुगेको थियो ।
प्रहरीका अनुसार राय आफ्नै एक तल्ले पक्की घरको सुत्ने कोठामा मृत फेला परेका थिए । उनको टाउकोको बायाँ पट्टी भागमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ । उनको शव सुत्ने खाटको छेउमा उत्तानो अवस्थामा रहेको थियो ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ । सोमबार बिहानै धनुषा लालगढबाट कुकुरसहितको टोली घटना स्थलमा आइपुगेको छ । त्यस्तै मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञबिनोद पोखरेलको टोली पनि घटनास्थलमा पुगेको छ ।
प्रदेश प्रहरीको थप अनुसन्धान टिम समेत आई अनुसन्धान हुँदै गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।तीनजनाको समूहले हत्या गरेको जनाइएको छ ।
मलंगवा नगरपालिकामा समेत घर भएका पूर्वराज्यमन्त्री रायको चन्द्रनगरमा करिब सयौँ बिघा खेत रहेको छ । सोही खेत रोपाइँ गर्न आएका उनको हत्या गरिएको स्थानीय बताउँछन् । यादव पञ्चायत काल र बहुदलीय व्यवस्थामा पटक पटक सांसदमा निर्वाचित भएका थिए ।





प्रतिकृया दिनुहोस्