May 4, 2026, Monday
२०८३ बैशाख २१

सुदूरपश्चिमसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, यी नदीहरूमा आकस्मिक बाढीको जोखिम

काठमाडौं । सुदूरपश्चिमसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको हुदां सुदूरपश्चिमसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । मनसुनी वायुको प्रभावका कारण अहिले देशभर साधारणतया बदली रही गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो  देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ। 

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भने भारी वर्षा हुने प्रक्षेपण छ। 

महाशाखाले सोमबार राति देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

यी नदीहरूमा रहने छ आकस्मिक बाढीको जोखिम 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई  स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापनमा कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको छ ।

आज सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, कास्की, पर्वत, म्याग्दी, रुकुम पूर्व, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा केही स-साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ । 

साथै ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, सिन्धुली, मकवानपुर, रामेछाप, दोलखा, धादिङ, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, चितवन, नवलपरासी (ब.सु.पूर्व), नवलपरासी (ब. सु. पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, बाग्लुङ, प्युठान, रोल्पा, अछाम, दार्चुला, बैतडी र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

GTDxnWbWsAAAyJm
GTDxnWbXMAAweKj