May 4, 2026, Monday
२०८३ बैशाख २१

प्रधानमन्त्री ओलीले पाए संसद्‍को दुईतिहाइ मत, पक्षमा १८८, विपक्षमा ७४

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍बाट विश्वासको मत पाएका छन् । गत असार ३० गते नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका उनले संसद्‍को दुईतिहाइ समर्थन पाएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका थिए ।

त्यसैअनुसार उनको पक्षमा नेपाली कांग्रेससहितका दलहरूले संसद्‍को दुईतिहाइ अर्थात् १८८ मत पाएका हुन् । ओलीको विपक्षमा ७४ मत परेको छ । संसद्मा आज २६३ जना उपस्थित थिए ।

उनको पक्षमा ७ वटा दल र तीन स्वतन्त्र सांसद गरेर १ सय ९२ सांसदले मतदान गरेका छन् । ओलीको पक्षमा नेपाली कांग्रेसका ८८ र नेकपा एमालेका ७६ सांसदले मतदान गरेका छन् ।

एमालेका २ सांसदले मतदान गरेनन् । पाँचथरबाट निर्वाचित वसन्तकुमार नेम्बाङ बिरामी परेकाले उपस्थित भएनन् । यस्तै, अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा छन् ।

ओलीलाई डा. सीके राउत नेतृत्वको जनमत पार्टीका ६ सांसदले विश्वासको मत दिएका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका ७ सांसदले पनि ओलीलाई मत दिए ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका ५, नागरिक उन्मुक्ति पार्टीका ४ र लोकतान्त्रिक समाजवादी पार्टीका ४ सांसदले ओलीलाई विश्वासको मत दिए ।

यीमध्ये नागरिक उन्मुक्ति, जनमत र जसपा नेपाल संघीय सरकारमा सहभागी छैनन् । स्वतन्त्र सांसदहरू योगेन्द्र मण्डल र डा अमरेशकुमार सिंहले पनि ओलीको पक्षमा मतदान गरे ।

प्रधानमन्त्रीले राखेको विश्वास मतको प्रस्तावका विपक्षमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत उभिएका छन्।

प्रधानमन्त्रीको विपक्षमा जम्मा ७४ सांसद उभिए । विपक्षमा नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ र नेकपा एकीकृत समाजवादीका १० सांसदले मतदान गरे ।

त्यसैगरी आमजनता पार्टीका प्रभु साह पनि विपक्षमा उभिए । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले पनि ओलीलाई मत दिएनन् ।

प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि एक सय ३८ मत आवश्यक पर्थ्यो तर ओलीको पक्षमा दुईतिहाइ मत परेको हो ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । उनले त्यसको भोलिपल्टै पदभार ग्रहण गरेका थिए ।

गत असार १७ गते कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउनेलगायत ७ बुँदे सहमति भएको थियो। जसअनुसार पहिलो दुई वर्ष ओली र चुनाव गराउने गरी पछिल्लो डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति छ।

ओली २०७२ असोज २४ मा पहिलो पटक प्रधानमन्त्री भएका थिए । उनको पहिलो कार्यकाल ९ महिनाको थियो । २०७३ साउन ९ मा राजीनामा दिएसँगै उनको कार्यकाल सकिएको थियो । तर, उनले अर्को सरकार गठन नहुँदा (साउन १९) सम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिनिधिसभा निर्वाचन २०७४ मा एमाले र माओवादीले चुनावी गठबन्धन गरेका थिए । उक्त निर्वाचनबाट कम्युनिस्ट गठबन्धनले प्रतिनिधिसभामा झन्डै दुईतिहाइ सिट प्राप्त गर्‍यो र पार्टी एकताको घोषणा गर्‍यो । सोही जनमतका बलमा ओली संविधानको धारा ७६ (१) बमोजिम प्रतिनिधिसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेताको हैसियतमा २०७४ फागुन ३ मा दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिए