May 4, 2026, Monday
२०८३ बैशाख २१

बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

काठमाडौं । बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिएका छन् । नेकपा एमालेसँगको तत्कालीन गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दुवैजना मुख्यमन्त्रीले आइतबार राजीनामा दिएका हुन् ।

बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

यसअघि जम्कट्टेलले विश्वासको मत लिन प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । तर माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको सुझावअनुसार उनले राजीनामा दिएका हुन् ।

उनले प्रदेश सभाबाट आफ्ना कामका रेकर्ड गराउन बैठक माग गरेको बताए । तर अब नयाँ सरकार बनाउन कांग्रेस र एमालेको बहुमत रहेकाले मार्ग प्रशस्तका लागि राजीनामा दिएको जम्कट्टेले बताए ।

बागमतीमा अब कांग्रेस-एमाले गठबन्धन सरकार बन्नेछ । कांग्रेसबाट बहादुर सिं लामा मुख्यमन्त्री बन्दै छन् । सरकार गठनका लागि दाबी पेश गर्न कांग्रेस र एमालेका सांसदकाे हस्ताक्षर संकलन गरिएकाे छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पनि आज विश्वासको मत लिने कार्यसूची थियो । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले विश्वासको मत नपुग्ने निश्चित भएपछि प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् ।

कामचलाउ भएर एकछिन पनि बस्न नसक्ने बताउँदै उनले कांग्रेस–एमालेलाई नयाँ सरकार छिटो बनाउन आह्वान गरे ।

महराको राजीनामा पछि कांग्रेस–एमालेले नयाँ सरकार गठनको तयारी गरेका छन् । दुई दलबीच एमाले संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने सहमति भएको एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए ।

यसअघि कांग्रेस र एमालेबीच मुख्यमन्त्री को बन्ने भन्ने टुंगो लागेको थिएन ।