May 4, 2026, Monday
२०८३ बैशाख २१

सरकारले आर्थिक शिथिलतालाई चिर्दै चलायमान बनाउने छ : सभापति देउवा (पूर्णपाठ सहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आर्थिक शिथिलतालाई चिर्दै चलायमान बनाउने बताएका छन् । देउवाले वर्तमान सरकारले आर्थिक शिथिलतालाई चिर्दै चलायमान बनाउने उनले उल्लेख गरेका हुन् ।

सरकारले जनचाहनाबमोजिम राष्ट्रिय हित अनुकुलको सुशासनयुक्त सरकार सञ्चालन गर्ने विश्वास देउवाले व्यक्त गरेका छन् । उनले आर्थिक शिथिलतालाई गति दिँदै रोजगारीका थप अवसरको सिर्जना र चलायमान अर्थतन्त्रको निर्माणमा सरकारले ठोस योगदान दिने विश्वास व्यक्त गरे ।

राजनीतिक स्थिरताका निम्ति संसद्को पहिलो र दोस्रो दल मिलेर सरकार बनाइएको उनले बताए । उनले देश विकासका निम्ति स्थिर सरकार बनाउन आवश्यक भएको बताए । सरकारले आर्थिक शिथिलतालाई चिर्दै चलायमान बनाउने उनले उल्लेख गरे ।

संविधान संशोधन गर्नु लोकतन्त्रको स्वाभाविक अभ्यास भएकामा उनले जोड दिए । संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिने उनको भनाइ थियो ।

“संविधान प्रारम्भ भएको आठ वर्ष पूरा भएको छ । यसको सबल पक्ष, दुर्बल पक्ष, जटिलताको समीक्षा गरी संविधानमा आवश्यक परिमार्जन गर्नु लोकतन्त्रको स्वाभाविक अभ्यास हो,” उनले भने, “संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ ।”

सबै राजनीतिक दलसँग संवाद गरेर मात्र संविधान संशोधन गर्नु उचित हुन्छ भन्नेमा आफूहरु स्पष्ट रहेको उनले बताए ।

यस्तो छ सम्बोधनको पूर्णपाठ

सम्माननीय सभामुख महोदय,

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूले आज नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नका लागि प्रस्ताव राख्नुभएको छ । आम नेपाली जनताको अपेक्षा स्थिर सरकार, तीव्र आर्थिक विकास, रोजगारीको सिर्जना, भौतिक संरचनाको शीघ्र निर्माण नै हो । हामीले यस दिशामा प्रगति हासिल गर्नाका साथै आज देखिएको निराशा आशामा बदलिने छ । वर्तमान सरकारले यो दिशामा तीव्रताका साथ काम अगाडि बढाउँदै जनतामा आशा र भरोसा जागृत गर्ने छ भन्ने मैले विश्वास लिएको छु । देश विकासको लागि सबैभन्दा पहिला स्थिर  र मजबुत सरकार निर्माण गर्नु जरुरी छ । आजको संसदको संरचनालाई हेर्दा स्थिर सरकारका लागि संसदको पहिलो र दोस्रो ठूला दल मिली सरकार गठन भएको छ । 

वर्तमान सरकारले मुलुकमा देखिएको आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्रलाई चलायमान बनाउने छ, मुलुकमा दिगो शान्ति कायम गर्दै गतिशिल अर्थतन्त्रका माध्यमबाट  देशभित्रै रोजगारीका अवसरहरु सिर्जना गर्ने छ । यसबाट राजश्वमा थप वृद्धि भइ जनचाहना अनुसारका विकास निर्माणका काम गर्न पनि सकिने छ । 

भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकलाई सुशासनतर्पm अग्रसर गराउन आवश्यक छ । संविधान प्रारम्भ भएको आठ वर्ष पुरा भएको छ । यसका सवल तथा दुर्वल पक्ष एवं जटिलताको समीक्षा गरी संविधानमा आवश्यक परिमार्जन गर्नु लोकतन्त्रको स्वभाविक अभ्यास हो । संविधान संसोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समाबेशीतालाई थप सुदृढ गरिने छ । संविधान संसोेधन गर्दा नेपालमा क्रियाशिल सबै राजनीतिक दलहरु बीच सम्बाद र सहमतिबाट गर्न उचित हुन्छ भन्ने विषयमा हामी स्पष्ट छौं । गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेका बिचमा सहमति भएको अवगत नै छ । सोही अनुसार नेकपा एमालेका नेता के.पी.शर्मा ओली नेपाली कांग्रेस समेतको समर्थनमा संविधानको धारा ७६ कोे २ अनुसार असार ३१ गते प्रधानमन्त्रीमा नियुक्त भइ विश्वासको मतका लागि प्रतिनिधि सभामा प्रस्तुत हुनु भएको छ ।

सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओलीको नेतृत्वको वर्तमान सरकारले जनचाहना बमोजिम राष्ट्रिय हित अनुकुलको सुशासनयुक्त सरकार सञ्चालन गर्ने नै छ । वर्तमान सरकारले विधिको शासन, संविधानको पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुनहरुको निर्माण, लगानीको उचित वातावरण तयार पार्दै आज देखिएको आर्थिक शिथिलतालाई गतिशिल बनाउँदै रोजगारीका थप अवसरहरुको सिर्जना र एउटा चलायमान अर्थतन्त्रको निर्माणमा ठोस योगदान दिने मैले विश्वास लिएको छु । सम्माननीय प्रधानमन्त्री अत्यन्त मेहनति, अध्ययनशिल र अनुभवी हुनुहुन्छ । उहाँको मन्त्रिमण्डलमा रहेका साथीहरु पनि योग्य र सक्षम हुनुहुन्छ । उहाँको नेतृत्वमा मुलुकले उन्नतिको नयाँ बाटो समात्ने छ भन्ने मैले विश्वास लिएको छु । राजनीतिलाई स्थिरताको बाटोतर्फ उन्मुख गराउनका लागि गठन भएको वर्तमान सरकार सफल हुने मैले विश्वास लिएको छु । तसर्थ असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सात बुँदे सहमतिको कार्यान्वयन प्रति नेपाली कांग्रेस दृढ छ, दृढ रहिरहने छ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु । साथै नेकपा एमाले पनि यस कुरामा दृढ रहने छ भन्ने कुरामा म पूर्ण रुपले विश्वस्त छु । त्यसैले नेपाली कांग्रेसले सम्माननीय प्रधानमन्त्रीले माग्नु भएको विश्वासको मतको पक्षमा मतदान गर्ने छ । साथै अन्य दलहरुलाई सम्माननीय प्र्रधानमन्त्रीज्यूले राख्नु भएको विश्वासको मतको पक्षमा मतदान गर्न अपील समेत गर्दछु ।  

धन्यवाद ! 

जय नेपाल !