May 4, 2026, Monday
२०८३ बैशाख २१

प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि कांग्रेस, रास्वपा र राप्रपाको संसदीय दलको बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएपछि सत्तारुढ कांग्रेस सहित राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक बस्दैछ ।

आज प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिने कार्यतालिका तय भएको छ । कांग्रेसको संसदीय दलको बैठक १२ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।

संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने, देशभर बाढीपहिराका कारण भएको क्षति तथा पीडितलाई सहयोग एवं समसामयिक विषयमा निर्णय गर्ने जानकारी दिए ।

रास्वपाको संसदीय दलको कार्यालयमा दिउँसो ११ बजे बैठक बस्दैछ । प्रधानन्त्रीले संसद्‍मा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने उक्त पार्टीकी सचेतक निशा डाँगीले बताइन् ।

राप्रपा संसदीय दलको बैठक साढे ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गर्ने उनले जनाए ।

राप्रपाको निर्देशन समितिको बैठकले शनिबार प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन उपयुक्त हुने सुझाव दिएको छ ।